हतियार पराजित भइरहने देश

 

नेपाली समाजको चेतना आधारभूत रूपमा अहिंसावादी छ । यो कुनै उपदेश होइन । यो हो नेपाली इतिहासको सय वर्षे निचोड । नेपालमा जति पनि हिंसात्मक विद्रोह भएका छन् तिनले सहिद जन्माउनेबाहेक अर्को कुनै काम गरेका छैनन् । यो वाक्यलाई सहिदप्रतिको अपमान नठानियोस् । सहादतपछिका आन्दोलनहरूका लागि यस्ता सहादतहरूको अत्यन्तै ठूलो प्रेरणा रहेको छ । तर सहादतबाहेक हिंसात्मक आन्दोलनले आफैँमा कुनै ठोस उपलब्धि पाएको देखिँदैन ।

संगठित रूपमा नेपालको पहिलो हिंसात्मक विद्रोह विक्रमको १९८८ सालमा भयो । उक्त संगठनको नाम प्रचण्ड गोरखा थियो । मैनाबहादुर लगायतका मान्य अग्रजहरूले सहादत प्राप्त गरेको र खड्गमान सिंहले २० वर्ष जेलमा बिताएको त्यो विद्रोह असफल भयो । त्यसले राणाशासनलाई हल्लाउने र नेपालीलाई प्रजातन्त्र प्राप्तिको मार्गमा अघि बढ्ने प्रेरणा दिएको थियो । तर आफूले प्राप्त गर्ने परिणामका हिसाबमा त्यो एउटा असफल विद्रोह थियो ।

प्रजातन्त्र प्राप्तिको लडाइँमा होमिएर मातृभूमिलाई सहादतको ऋण बोकाउने प्रजापरिषद्को विद्रोह आधारभूत रूपमा अहिंसात्मक आन्दोलन थियो । त्यसका नेताहरूलाई ज्यान सजाय र सर्वस्वसहित आजीवन काराबास दिए पनि प्रजापरिषद् नेपालको पहिलो प्रजातान्त्रिक आन्दोलनका रूपमा इतिहासमा बाँचिरहने भयो ।

२००७ सालको क्रान्तिलाई सफल भन्न मिल्दैन । उतिबेलै पुष्पलालले अपूर्ण क्रान्ति भनेर ००७ सालको राजनीतिक परिवर्तनलाई सम्बोधन गर्नुभएको छ । ००७ सालमा नेपाली कांग्रेसले मुक्तिसेना गठन गरेको थियो । त्यसको नेतृत्वमा विभिन्न जिल्लामा हिंसात्मक भिडन्तहरू पनि भएका थिए । त्यो युद्ध प्रजातन्त्र प्राप्तिको लडाइँ थियो । तर राजा त्रिभुवन र जवाहरलाल नेहरूको चक्रव्यूहमा परेर ००७ सालको क्रान्ति लक्षित राजनीतिक परिवर्तनको टुङ्गोमा पुग्न सकेन । जनताले लक्षित अधिकार पाएनन् । राणाकालमा बेलायती राजदूतको हस्तक्षेप बेहोरेर हैरान भएको नेपाली सार्वभौमसत्ता, ००७ सालपछि भारतीय राजदूतको हस्तक्षेप बेहोर्न बाध्य भयो । ००७ सालको परिवर्तन, नेपाल राष्ट्र र नेपाली जनताका लागि विश्व सन्दर्भमा सेता मालिकका स्थानमा काला मालिक अनि नेपाली सन्दर्भमा लङ कोटे जुँगामुठे राणा महाराजका स्थानमा चिटिक्क परेको दौरासुरुवाल, कोट, टोपी भिरेका शाह महाराजको जमिनदारीमा फेरियो । ००७ सालमा बीपी कोइरालाको क्रान्तिकारी सपना असफल भयो । डाक्टर के.आई. सिंह र रामप्रसाद राई, एकदेव आले तथा भीमदत्त पन्तको परिवर्तनकारी क्रान्तिलाई दिल्ली सम्झौताका नाममा सहिद बनाइयो । त्यो युद्धमा रामप्रसाद राई र भीमदत्त पन्तले आफ्नो जीवनको आहुति दिनुपरेको थियो । आफ्नै राजनीतिको सपना मार्ने ००७ प्रति नेपाली कांग्रेसको मोह किन भङ्ग हुन नसकेको हो अहिलेसम्म बुझ्न सकिएको छैन । राजा त्रिभुवन नै त्यस्ता व्यक्ति थिए जसले ०१७ सालको फौजी कूको बिरुवा रोपेका थिए आफ्नो चार वर्षे शासनकालमा ।

नेपाली इतिहासकारहरूले ००७ सालको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्छ । त्यो सतही नहोस्, अध्ययन र अनुसन्धानमा आधारित होस् । राजा त्रिभुवन साँच्चै प्रजातन्त्रप्रेमी थिए भने उनको प्रत्यक्ष शासन भएको समयमा तिनले वाचा गरेको ‘गणतान्त्रिक संविधान’ बनाउने किन कुनै पहल गरेनन् ? उनमा साँच्चिकै प्रजातन्त्रप्रति आस्था थियो भने तिनले किन सरकार बनाउने र बिगार्ने कामलाई निरन्तरता दिए ?

नेपाली इतिहासको अर्को सशस्त्र विद्रोह पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको थियो २०१८ सालमा । तर हजारभन्दा बढी नेपालीजनको संहार गरेर त्यसले थकाइ मार्नुपरेको थियो । इलाम, पाँचथर, भोजपुरमा मैले नेपाली कांग्रेसको सशस्त्र आन्दोलनको समयमा भएको नरसंहारको कथा पीडितहरूका मुखबाट सुनेको थिएँ भने पश्चिमको अर्घाखाँचीलगायतका स्थानहरूमा पनि धेरै नागरिकले आफ्नो ज्यान गुमाउनुपरेको जानकारी पाएको थिएँ ।

त्यो सशस्त्र संघर्ष असफलतामा टुंगियो तर नेपाली कांग्रेसले त्यो असफलताबाट शिक्षा लिन सकेन । त्यसैले उसले २०३० सालमा पुनः सशस्त्र संघर्ष थाल्यो । एकै झम्टामा आफ्ना अढाइ दर्जन प्रतिभाशाली युवाहरूको सहादतपछि मात्रै नेपाली कांग्र्रेसले सदाका लागि सशस्त्र संघर्षलाई आफ्नो राजनीतिक एजेन्डाबाट हटायो ।

सुस्ताएको कम्युनिस्ट आन्दोलनलाई ऊर्जा दिने चिन्तन बोकेर झापाबाट सशस्त्र गुरिल्ला युद्ध सुरु भयो । मुलुकलाई रनक्क तताउने त्यो गुरिल्ला युद्ध भने असफलताको गहिरो खाल्टोमा खस्यो । यद्यपि म स्वयं झापा आन्दोलनबाट प्रभावित भएर, त्यही गुरिल्ला युद्धको स्पिरिटबाट गठन भएको अखिल नेपाल कम्युनिस्ट कोअर्डिनेसन संगठनमा समाहित भएको थिएँ । तर जतिबेला म झापाली हुँदै थिएँ, त्यतिबेला झापाली गुरिल्ला युद्ध स्पिरिटमा मात्र बाँचेको थियो । सम्पूर्णतामा झापाकालीन उग्रतालाई त्यागेपछि मात्रै तत्कालीन नेकपा माले र पछिको एमाले मुलुकको एउटा ठूलो राजनीतिक शक्तिका रूपमा उदाउन सकेको हो ।

०४२ सालमा पुराना गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले अहिंसा र हिंसाको फ्युजन गरेर बम पड्काउनुभयो । बम आन्दोलनको उपलब्धि नेपाली कांग्रेसको अहिंसात्मक सत्याग्रहलाई बीचैमा तुहाउने बिस्फोट भएर समाप्त भयो । ०४२ सालको बम आन्दोलनले आफूलाई मात्र समाप्त पारेन, त्यसले अहिंसात्मक सत्याग्रहलाई समेत सती बनाएर लग्यो ।

खडेरी परेको भूमिमा डाँडापाखा भत्काउँदै, मान्छेहरू बगाउँदै आयो माओवादीको जनयुद्ध । मुलुकको असी प्रतिशत भूभाग कब्जा गरेको दाबी गर्ने माओवादीको जनयुद्धले दुइटा उपहार नेपाली राजनीतिलाई दियो । पहिलो लुटपाट र अपहरणको संस्कृति अनि दोस्रो, बलात् आफ्ना विचारहरूलाई अरूका टाउकामा थोपर्ने निरङ्कुश चरित्र । त्यसैले १६ हजार नौ सयको ज्यान लिएर रक्तरञ्जित भएको माओवादी जनयुद्धले राजा ज्ञानेन्द्रलाई सत्ता कब्जा गर्न सजिलो आधार निर्माण गरिदियो । धन्न शान्तिपूर्ण रूपान्तरणमा विश्वास गर्ने राजनीतिक दलहरूको प्रयासले माओवादी जनयुद्ध रोकियो । यसरी माओवादी हिंसात्मक युद्ध पनि असफलतामै टुंगियो ।

माओवादी जनयुद्धको असफलताले पनि नेपालको राजनीतिमा हिंसा निरर्थक हत्याको एउटा अभियान मात्र हो भन्ने ज्ञान दिन सकेन । त्यही असफल हिंसाको सिको गर्दै मधेसका नाममा नयाँ हिंसाको आरम्भ भयो । त्यो पनि अहिले खरानी भएर समाप्त भइसकेको छ । तर मर्दामर्दै पनि त्यसले एउटा नकाम गरेरै गयो । त्यसले तराई क्षेत्रको जातीय सद्भावलाई कम्तीमा पनि एकाध पुस्ताका लागि समाप्त पारिदियो र झन्डैझन्डै समाप्त भइसकेको डकैतीलाई हतियारसहित पुनर्जन्म दिने काम गर्‍यो । सधैँभरि तराईका पक्षमा बोल्ने माधव नेपालले समेत एउटा कार्यक्रममा १४० वर्षदेखि सद्भावपूर्वक बसिरहेका पहाडी थर भएका हामीजस्ता नेपालीहरूको घरमा आगो लाउने, सरसम्पत्ति लुट्ने काम मधेस आन्दोलनकै नाममा भयो भनेर गुनासो गरेको सुनियो ।

नेपाली राजनीतिमा हिंसा सम्पूर्णतामै असफल मार्गका रूपमा स्थापित भइसकेको छ । तर यसको ठीक उल्टो अहिंसात्मक आन्दोलनहरूले नेपालमा ठूलै परिवर्तनको उपहार हामीलाई दिएका छन् । यसको एउटा उदाहरण हो- २०३६ को विद्यार्थी आन्दोलन । त्यसमाथि दमन पनि भयो । तर त्यसले नेपाली राजनीतिमा एउटा महत्त्वपूर्ण मोड ल्यायो । सबै पञ्च नेपाली र सबै नेपाली पञ्च भन्ने स्यालहुइयाँ चलाइएको नेपाली राजनीतिलाई विद्यार्थी आन्दोलनले ‘पञ्चायतको विकल्प छ है’ भन्ने ठाउँमा पुर्‍याइदियो । राजाले बहुदल र निर्दलका बीचमा जनमतसंग्रह गराउने घोषणा गर्नुपर्‍यो ।

०४६ सालको आन्दोलन खेप्ने धेरै युवा अहिले राजनीतिको महत्त्वपूर्ण ठाउँमा छन् भने ०६२/६३ को जन आन्दोलन अझै इतिहास भइसकेको छैन । जनताको शान्तिपूर्ण आनदोलनको परिणाम राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापनामा आएर रोकिएको छ ।

अर्थात् नेपाली राजनीतिक आन्दोलनले यस्तो निष्कर्ष दिएको छ- सबैले हिंसा त्याग गर, त्यो आमहत्याको बाटो हो । जनपरिचालन नै राजनीतिक यात्राको सही र प्रगतिको यात्रामार्ग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

travelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   -  नेपालमदर डट कम  -    ग्लोब नेपाल डट कमहिमाल खबर  -    ई-कान्तिपुर  -    नेपालन्यूज -   गोरखापत्र  -    दि हिमालायन टाईम्स -    नयाँ पत्रिका -    राजधानी  -    नागरिक  दैनिक  -    रिपब्लिका -   कारोबारदैनिकी  -    न्यूज अफ नेपाल -   नेपाल जापान  -    फ्रि नेपाल  -   डामाडोल  -   प्रदेशलाइफ  -  एचके नेपाल -  हेलोनेपालकोरिया  -   ब्रुसेल नेपाल  -   हाम्रो समाज  -   फ्रान्स नेपाल  -   नेपाल ब्रिटेन  -   नेपाली न्युज युएस्ए  -   नेपाल अरब  -   नेपाल कुवेत  -   नेपाल दुबई  -   नेपाली सन्देश  -   एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.