कसैका स्वार्थ आफ्नै छन् अस्तित्व पहिचानका
कसैका स्वार्थ भिन्नै छन् भोक रोग अभावका
कसैका स्वार्थ वेग्लै छन् उन्नति प्रगति शुख
कसैका स्वार्थ अर्कै छन् प्रभुत्व अधिनायक ।।
कसैका स्वार्थ छुट्टै छन् तमासा हेर्न चाहने
कसैका स्वार्थ के जान्नु उल्का आतंक ल्याउने
कसैका स्वार्थ ती हुन्छन् अर्कोलाई दवाउने
सधै आफू वलियो भै शक्तिशाली ठूलो हुने ।।
कसैको दाउ त्यो हुन्छ तेल पानी खनिजमा
कसैले भाउ त्यो हेर्छ सस्तो सेवा र वस्तुमा
कसैको चाहना हुन्छ संस्कृति धर्म आदिमा
कसैको वाध्यता होला भाषा संस्कार जातिमा ।।
आफूभन्दा अरु कोही वलियो शक्तिशाली त्यो
भएको देख्न चाहन्न मान्छेको जात यही हो
सकेसम्म डर त्राश लोभ आशा चटाउछ
केहीसिप नलागेमा वलैले ड्याम्म हान्दछ ।।
आफ्नो स्वार्थ कताबाट पूर्ति हुन्छ दगुर्दछ
सोझै लड्न वुता छैन पछाडिबाट टोक्दछ
परिस्थितिहरु यस्ता पर्दछन् आखिरी अनि
व्यक्ति समाज संस्था वा देशका वीचमा पनि ।।
देश हेर्छ सधै आफ्नो राष्ट्रिय हितका कुरा
व्यक्ति संस्था समुदाय आआफ्नै स्वार्थ हेर्दछ
चाहना वाध्यता स्वार्थ अनन्त छन् असीमित
चाहना वाध्यता स्वार्थबाटै सम्बन्ध बढ्दछ ।








