सिद्धान्तका बारेमा नेताहरुले सोचून

 

नेपाली राजनीतिक वृत्तमा दुई प्रवृत्तिको वर्चस्व रहेको छ लामै समयदेखि र यो वर्चस्व अझै लामै कालसम्म रहिरहनेछ । मार्क्सवादी भाकामा बुर्जुवा पार्टी भनिने नेपाली काङ्ग्रेस र बुर्जुवा भाकामा साम्यवादी भनिने नेकपा एमाले समकालीन राजनीतिका दुई ध्रुव हुन ।

विचारको सन्दर्भमा भन्दा बुर्जुवा राजनीतिको केन्द्र नेपाली काङ्ग्रेस हो भन्न अप्ठ्यारो मान्नु पर्दैन । त्यो बुर्जुवा कित्तामा आफ्नो सिद्धान्तलाई प्रजातान्त्रिक समाजवाद भन्ने नेपाली काङ्ग्रेसदेखि राजतन्त्र ब्युँझाउन लागि परेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) सम्म रहेका छन । अर्थात बुर्जुवा पार्टीहरुको पङ्तिमै मध्यमार्गी, दक्षिणपन्थी र धूरदक्षिणपन्थी समेतका पार्टीहरु समेटिएका छन । यस्तो विभाजन अन्यान्य मुलुकमा पनि हुन्छ ।

यसैगरी साम्यवादी राजनीतिको केन्द्र नेपाल कम्युनिस्ट पार्टी (एमाले) हो भन्न पनि अप्ठ्यारो मान्नु पर्दैन । यहाँ पनि उग्रवामपन्थीदेखि दक्षिणपन्थी सँशोधनवादी भनी आरोप खाइरहेका पार्टीहरु छन । नेकपा एमालेले अङ्गिकार गरेको जनताको बहुदलीय जनवाद, नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको प्रमुख सिद्धान्त हो भने यसै कित्तामा अक्टोबर क्रान्तिको शहरी विद्रोह र माओत्सेतुङको नयाँ जनवादी क्रान्तिको फ्यूजनको सिद्धान्त बोकेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) उग्रवामपन्थी चिन्तनको प्रतीक हो । अहिले एकीकृत माओवादी पार्टी ठूलो देखिनु एउटा कुरा हो – तर त्योसँग लोकतान्त्रिक गणतन्त्रलाई प्रजातान्त्रिक हिसाबमै अघि बढाउने कुनै सिद्धान्त छैन । त्यसै हुनाले अहिले पनि नेकपा एमाले नै कम्युनिष्ट भनिने कित्ताको नेता भएको हो । एकीकृत माओवादी पार्टीले जनताको बहुदलीय जनवाद भन्दा प्रजातान्त्रिक सिद्धान्त अवलम्बन गर्न सक्यो भने यथाहालतमै त्यो नेकपा एमालेलाई विस्थापित गरेर कम्युनिस्ट खेमाको नेता हुन सक्छ ।

अध्ययनशील पाठकका लागि नयाँ कुरो होइन यो । तर आजका पाठकलाई थाहा हुनै पर्ने कुरा के हो भने नेपालमा मार्क्सवादलाई परिचित गराउने जस बुर्जवा र साम्यवादी दुबै खेमाका नेताहरुलाई जान्छ । नेपाली काङ्ग्रेसका सिद्धान्तकार विश्वेश्वरप्रसाद कोइराला र नेपाल कम्युनिस्ट पार्टीका नेता (पछि नेकपा एमालेका अध्यक्ष) मनमोहन अधिकारी दुबैले सन् १९३० को दशकान्तमा मार्क्सवादी चिन्तनलाई नेपाल प्रवेश गराएका हुन । लक्ष्मीप्रसाद देवकोटालाई सम्मान गर्ने कार्यक्रममा स्वयम वि.पी. कोइरालाले भनेका छन, “एकचोटी उहाँसँग मेरो कुरा भयो– बहसजस्तो कुरा भयो, बहस त उहाँ गर्नु हुन्नथ्यो । मचाहिँ आफ्नो मार्क्सवादको विचारलाई लिएर उहाँसँग बहस गर्नलाई बडो अग्रसर हुन्थेँ” । नेकपा एमालेको लोगोमा अहिले पनि पार्टीका सँस्थापक पुष्पलाल, पार्टीका सिद्धान्तकार मदन भण्डारी र नेपालका प्रथम निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई राखिएको छ । बामपन्थी खेमाबाट नेपालमा मार्क्सवाद भित्रियाउने र परिमार्जन गर्ने श्रेय यिनै नेताहरुलाई दिनुपर्छ ।

नेपाली काङ्ग्रेसमा अहिले प्रजातान्त्रिक समाजवादी सिद्धान्तको अध्ययन, विश्लेषण र सम्वर्दनको झण्डै झण्डै खडेरी परेको छ । थोरै छन प्रजातान्त्रि समाजवादको सिद्धान्तलाई बुझ्ने र ब्याख्या गर्नेहरु त्यहाँ । तर तिनीहरु ओझेलमा पारिएका छन् । त्यसैले नेपाली काङ्ग्रेस सिद्धान्तको सवालमा यता न उताको पार्टी बन्न पुगेको छ । नेकपा एमाले भित्र पनि जनताको बहुदलीय जनवादलाई बुझ्ने र त्यसको ब्यवहारिक प्रयोगमा जोड दिने चिन्तनमा खडेरी परेको छ । त्यसैले आठौँ महाधिवेशन यता नेकपा एमालेको सँगठनात्मक जीवन बाटोमा अलमलिएको यात्रीको जस्तो भएको छ ।

यो अवस्थाका बारेमा राजनीति गर्ने सबैले सोच्नु पर्दछ । जसरी सबै बुर्जुवा पार्टीलाई एउटै डालोमा राख्न सकिँदैन त्यसरी नै कम्युनिस्ट नाम भएका सबै पार्टीहरुलाई पनि एउटै डालोमा हाल्न सकिँदैन । नेपाली काङ्ग्रेस पनि बुर्जुवा पार्टी र राप्रपा नेपाल पनि बुर्जुवा पार्टी हो । तर सापेक्षित हिसाबमा भन्ने हो भने नेपाली काङ्ग्रेस राजनीतिको अग्रगमनप्रति समर्पित छ भने राप्रपा नेपाल पश्चगमनको राजनीति गरिरहेको छ । प्रजातान्त्रिक समाजवादी सिद्धान्तको पक्षधर नेपाली काङ्ग्रेसले आफूलाई गणतन्त्रको अभियन्ता बनाइसकेको छ भने प्रजातान्त्रिक उदारवादको नारा बोकेको राप्रपा नेपाल अहिले पनि देशी विदेशी प्रतिकृयावादीलाई गुहारेर राजालाई केन्द्रीय वृत्तमा ल्याउने र मुलुकलाई निरङ्कुशताको खाडलमा जाकेर सिध्याउने कोशिसमा लागिरहेकै छ ।

यति हुँदाहुँदै पनि नेपाली काङ्ग्रेस र राप्रपा नेपाल दुबैले ‘बुर्जुवाजी’ कै प्रतिनिधित्व गर्छन ।

कम्युनिस्ट पार्टीका बारेमा भने नेपाली राजनीतिमा चिताइनसक्नुको भ्रम छ । आफूलाई राजनीतिको दिग्गज खेलाडी मान्ने पढालिखा, ठूलाबडा नेताहरु समेत सबै कम्युनिस्ट पार्टी उस्तै हुन् भन्ने अन्धविश्वास बोकेर बाँचेका छन । गैरकम्युनिस्ट नेता र वामपन्थी वुद्धिजीविको कुरा छाडिदिउँ, स्वयम कम्युनिस्ट पार्टीकै अध्यक्ष र महामन्त्री जस्ता एक नम्बरका नेताहरु समेत सबै कम्युनिस्ट एकै हुन भन्ने डरलाग्दो भ्रममा बाँचिरहेका छन ।

तर सबै कम्युनिस्ट पार्टी एउटै हुँदैनन् । जसरी बुर्जुवाजीमा राजतन्त्रवादी र गणतन्त्रवादी दुबै अटाएका हुन्छन् त्यसैगरी कम्युनिस्टमा पनि लोकतान्त्रिक र निरङ्कुशतन्त्रका पक्षधर दुबै अटाएका हुन्छन् । यो मेरो निष्कर्ष होइन । माक्र्सवादका प्रणेता स्वयम् कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गर्दा यस्तो निष्कर्ष निकालेका छन्, “हामी ती कम्युनिस्टहरु भन्दा भिन्न छौँ, जो व्यक्तिगत स्वतन्त्रतालाई नष्ट गर्न लागिपरेका छन्, जो सँसारलाई एउटा ठूलो ब्यारेक या भीमकाय गोदाम बनाउन चाहन्छन् । निश्चय पनि यहाँ त्यस्ता कम्युनिस्टहरु छन् जो … व्यक्तिगत स्वतन्त्रतालाई स्वीकार्न चाहँदैनन् र यसलाई सँसारबाट विदा गर्न चाहन्छन् । उनीहरु ठान्दछन् कि यो पूर्णसामनजस्यताको वाधक हो । तर हामी स्वतन्त्रतालाई समानतासँग साट्न चाहँदैनौ । हामी यो कुरामा विश्वस्त छौँ कि सामाजिक स्वामित्वमा आधारित समाजमा जति अरु कुनै सामाजिक व्यवस्थामा व्यक्तिगत स्वतन्त्रताको किटानी हुँदैन ।”

मार्क्स आफैँले निकालेको निष्कर्ष प्रति मैले अरु थप टिप्पणी गरिरहनु परोइन । सन् १९९९ मा बेलायतको बिबिसी सँस्थाद्वारा गरिएको ‘मिलेनियम थिङ्कर’ को विश्वव्यापी सर्वेक्षणको एक नम्बरमा कार्लमाक्र्स परेका थिए । मार्क्सवाद स्वतन्त्रता विरोधी हुन्थ्यो भने कार्लमार्क्स कसरी एक हजार वर्षको एक नम्बरको चिन्तक ठहरिन सक्थे !

कार्लमाक्र्सको निष्कर्षलाई नेपालमा लागू गर्ने हो भने नेकपा एमालेले मार्क्सवादी कम्युनिस्ट पार्टीको परिचय बोकेको छ । किनभने त्योसँग कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रकृयाको अङ्ग बनाउने जनताको बहुदलीय जनवाद छ । तर एकीकृत माओवादीको पालुङ्टार भेलासम्मको निष्कर्षलाई हेर्दा त्यो गैरमाक्र्सवादी कम्युनिस्ट धारको प्रतिनिधित्व गर्छ । त्यसैले मार्क्सवादको सार बुझेका कम्युनिस्टहरुले एमाओवादी पार्टीलाई “ब्यारेकवादी” कम्युनिस्ट मान्ने गरेका छन ।

नेपालका सबै कम्युनिस्ट नेताहरु माक्र्सवादको पछाडि पुच्छर थपेर आफ्नै स्वतन्त्र चिन्तन माथि घात गरिरहेका छन् । विशेष गरेर मार्क्स एङ्गेल्सको निधनपछि मार्क्सवादको नाउँमा एक दर्जन भन्दा बढी स्कूलहरु खुले । वाद भनी चर्चामा ल्याइएका मध्यका, लेनिनको स्कूल रुसको अनुभव थियो । स्टालिनको स्कूल सोभियत सङ्घको अनुभव थियो । माओत्सेतुङ्को स्कूल चीनको अनुभव थियो । तर नेपाली कम्युनिस्ट आन्दोलनले झण्डै चार दशकसम्म आफ्नो स्कूल निर्माण गर्न सकेन । त्यसैले नेपालको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय विवादमा मुछिन पुग्यो ।

मदन भण्डारीले यही सँस्थागत गर्न नसकिएको स्वतन्त्र चिन्तनलाई नेपाली राजनीतिमा स्थापित गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीले ०१५ सालको चुनावमा भाग लिए पनि त्यो लामो कालसम्म नौलो जनवादी क्रान्तिको धङ्धङीबाट मुक्त हुन सकेन । यो नोक्सानीको प्रमुख कारण थियो –अध्ययनहीनता, जो अहिलेसम्म पनि नेपाली राजनीतिमा प्रमुख कारण भएर बसिरहेको छ ।

काङ्ग्रेस र कम्युनिस्ट दुबैले अध्ययन गरुन् । दुबै धारमा ऐजेरु पलाएका होलान । तर आआफ्नो सैद्धान्तिक चेतका आधारमा नेपाललाई अघि बढाउने मूलधार दुइटा मात्र छन् । जति ठूलो भए पनि ऐजेरुले मूलधारको प्रतिनिधित्व गर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.