तपाई विश्व बैंकको वाषिर्क बैठकमा भाग लिन आउनुभयो । यस बैठकमा नेपाललाई फाईदा हुने के काम गराउन सफल हुनुभयो ?
यो समय विश्व आर्थिक मन्दीमा परेको बेला हो । हामीलाई अलिकति शंका थियो कतै हामीले पाउने सहयोगमा कति त हुने हैन ! फेरी कतिपय हाम्रा दाताहरुले हामीलाई भनेका पनि थिए कि सहयोगका लागि यस वेला हामीले अलिकति लविंग गर्नु पर्ने जरुरी पनि हुन्छ । बैठकमा नेपाल जस्तो अवस्थामा रहेका राष्ट्रहरुको सहयोगलाई विस्तार गर्ने विश्व बैंकले प्रतिवद्धता जनायो । यो एउटा सफलता मान्नु पर्दछ । यस बैठकका सिलसिलामा अन्य सम्पन्न राष्ट्रका प्रतिनिधिहरुसंग आर्थिक विकासका लागि मेरो कुराकानी पनि भएको छ । यसले हामीले पाउने सहयोगमा सकारात्मक प्रतिफल आउने आशा छ ।
विश्व बैंकका अध्यक्ष र्रवर्ट जलिक र तपाईको भेटवार्तामा के कुरा भयो ?
हामीले अहिलेको भुक्तानी प्रकृया लामो भएकोले यसलाई सरल बनाउन प्रस्ताव राखेका थियौ । वाहाले आफ्ना कर्मचारीलाई बोलाएर तत्काल यसको तयारीका लागि निर्देशन दिनुभयो । दक्षिण एशियाली मुलुकहरुमा क्षेत्रिय सहयोग, जलवायू परिवर्तन, प्राकृतिक संरक्षणका वारेमा छलफल केन्द्रित थियो । विश्व बैंक ति विषयमा सकारात्मक रहेको भनाई विश्व बैंकका अध्यक्षको आयो ।
हाम्रो देशको वर्तमान अवस्थाको कुरा गरौ , बजेट आएको छैन , खर्च व्यवस्थापनका लागि कत्तिको अप्ठ्यारो छ ?
विकास खर्चको भन्दा पनि साधारण खर्चका हकमा त्यति सजिलो छैन । कार्तिक महिना देखि तलव खुवाउन सक्ने अवस्था छैन ।
समाधानका लागि के गर्दै हुनुहुन्छ ?
समाधानका लागि पूर्ण आकारको बजेट आउन जरुरी छ र त्यसका लागि राजनैतिक पहलकदमी भई रहेको छ । प्रधानमन्त्री स्वयमले त्यसका लागि कुराकानी चलाई रहनु भएको छ । कार्तिक भित्र बजेट आउनु पर्छ र त्यसको तयारी हुदै छ ।
माओवादीले त् यो सरकारलाई बजेट ल्याउन दिदैनौ भनेर स्पष्ट भनिसकेको छ नि !
मुलुकका सामु रहेको समस्या सवैले मिलेर समाधान गर्नु पर्दछ । माओवादी स्वयम संसदको ठूलो दल भएका नाताले पनि यसको समाधान दिनका लागि तयार हुनु पर्दछ । सरकार आफ्नो आयू आफै लम्वियाई रहेको छैन । प्रधानमन्त्रीले राजिनामा दिई सक्नु भएको छ , फेरी राजिनामा दिने ठाउं पनि छैन । यो परिस्थीतिमा सरकारको जिम्वेवारीमा रहनु पर्ने तर काम गर्ने स्थीति पनि नभएको कारण यो सबै पार्टिका लागि गम्भीर चिन्ताको विषय हो । यस कारण मलाई के आशा छ भने यो गम्भीरतालाई हेरेर सबै दलहरु एउटा सहमतीमा पुग्ने छन ।
नेपालको अर्थ मन्त्रालय सम्हाल्न धेरै अर्थ मन्त्रीहरु आए-गए , अर्थ मन्त्रीका रुपमा तपाईका मौलिक कार्यक्रमहरु के रहे जसका कारण तपाइलाई देशले सम्झियोस ?
हामी मन्त्रालयमा आएपछि केहि मौलिक कार्यक्रमका कुरा गरेका थियौ । उदाहरणका लागि काठमाडौं र तराई जोड्ने ‘फास्ट ट्राक’ । हामी ३० औ वर्ष देखि कुरामात्र गर्दै आईरहेका थियौ , कहिले सुरुङ मार्ग भन्ने कहिले के भन्ने । मैले बजेटमा के भने भने यो काम चाहिं म सेना लगाएर पनि सुरु गर्छु l नभन्दै हामीले बजेटमा त्यो कुरा घोषणा गर्यौ । सेनालाई त्यो निर्माणको जिम्वेवारी दिईयो र अहिलेसम्म त्यसको १७ किलोमिटर ‘ट्राक ओपन’ भएको छ , आउदो असार मसान्त सम्ममा ७६ किलोमिटरको काठमाडौ देखि निजगढसम्मको त्यो ‘फास्ट ट्राक’ निमार्ण पुरा हुन्छ ।
त्यसो भए तपाईको मौलिक कार्यक्रम ’फास्ट ट्राक’ हो ?
होईन l यत्ति मात्र होईन । अरु थुप्रै मौलिक कार्यक्रमहरु ल्याईएको छ । गत वर्ष हामीले सबैभन्दा पिछडिएका वर्गका लागि भनेर जनता आवास भन्ने कार्यक्रम ल्यायौ । यो कार्यक्रम सिराहा, सप्तरी र कपीलवस्तुमा दलितहरुका लागि भनेर तिन हजार घरहरु निर्माण गरेर सुरु गरियो र अव यसलाई अन्य जिल्लाहरुमा पनि विस्तार गरिदैछ । अर्को कुरा तराईका ठूला नदिहरुमा तटवन्ध निर्माण गरिएको छ , पहाडी जिल्लाहरुमा वाटो निर्माण गरि मध्य पहाडवाट पूर्व पश्चिम छिचोल्ने योजना छ । यि योजनाहरु जनताका लागि प्रत्यक्ष लाभ दिने नया योजनाहरु हुन ।
त्यसो हुदा तपाई अहिलेको विकासमा सन्तुष्ट हुनुहुन्छ ?
विकास भनेको एकै चोटी हुने कुरा होईन । पूर्व पश्चिम राजमार्ग बन्न ३० वर्षभन्दा वढि समय लाग्यो । यो एउटा उदाहरण मात्र हो । राजनैतिक विकास तीव्र गतिमा हुन्छ तर आर्थिक विकासले समय लिन्छ । एउटा सत्ता ‘ओभरनाईट’ ढल्न वा बन्न सक्छ तर एउटा वाटो एक रातमा वन्न सक्दैन । समय लाग्दछ । हामीले विकासको वाटो पक्रन खोजेका छौ र त्यस तर्फ राज्यको ध्यान मोड्ने प्रयास गर्दै छौ । अवको समयमा आर्थिक विकासका लागि सवै जुट्नु पर्दछ । राजनैतिक मुद्दालाई एउटा सहमतीमा राखेर आर्थिक विकासमा केन्द्रित हुन पर्दछ भन्ने मेरो बुझाई हो र त्यसमा सहमती पनि बढ्दो छ ।
विकासका लागि पैसा चाहिन्छ , अहिले राजश्व संकलनको अवस्था कस्तो छ ?
राजश्वको अवस्था सन्तोष जनक छ । म मन्त्रालयमा आउदा म भन्दा अगाडी मन्त्रालय चलाउने अर्थमन्त्री डा. बाबुराम भट्टराई जिको व्यक्तिगत चमत्कारी कुरा हो कि क्या हो ! सुरेन्द्र पाण्डे त डण्डा लगाउन पनि सक्दैन, अगाडिको पालामा डण्डा लगाएर पैसा उठेको हो भन्ने चर्चा परिचर्चा चल्ने गरेको थियो । गएको वर्ष लक्ष भन्दा ४ अर्व बढि राजश्व संकलन भएको छ । डण्डा लगाईएको पनि छैन र अत्यन्त उत्साहप्रद रुपमा राजश्व संकलन पनि भएको छ ।
यो राजश्व बृद्धि स्थीर मूल्यमा हो कि ‘मनिटरी ट्रम्स’ मा मात्र हो – मुल्य बृद्धि के कस्तो छ ?
मुल्य बृद्धिमा हामीले उचित परिणाम प्राप्त गर्न सकेका छैनौ । यो भन्दा अगाडिका अर्थ मन्त्रीका पालामा १३.२ प्रतिशत मुल्य बृद्धि थियो , अहिले १०.७ प्रतिशत छ र हाम्रो लक्ष भनेको ७ प्रतिशतमा सिमीत गर्ने थियो त्यो संभव हुन सकेन ।
अन्त्यमा, मुल्य बृद्धिलाई तपाईहरुको लक्षमा सिमीत गर्न संभव हुन नसकेको कारण के देख्नु हुन्छ ?
हामीले यसलाई हाम्रो लक्ष अनरुप ७ प्रतिशतमा सिमीत गर्न नसक्नुको प्रमुख कारण विश्वमा नै खाद्य वस्तुमा अत्यधीक मुल्य बृद्धि हुनु हो । तर अझै पनि हाम्रो प्रयत्न भनेको मुल्य बृद्धिलाई सिंगल डिजिटमा सिमीत गर्ने नै हो ।








