
राखी सम्बन्ध राम्रो असल मधुर मीठो मित्रता एकताको
धर्तीमा राख शान्ति अमन चयन दीगो लोकका सारथी हो
मान्छेको मित्रतामा जिवन जगतको वन्छ भाग्य भविश्य
मान्छेले एकतामा कठिन रण जिती लिन्छ निर्दिष्ट लक्ष्य ।
वाडौ सन्देश सांचो वचन करमले शान्ति सद्भावनाको
गाऊदै मित्रताको युग अमर प्रिय गीत सौहार्दताको
मैत्रेय भावनामा जिव र जगतको जित कल्याण हुन्छ
मैत्रेय भाव भन्दा असल अरु कुनै धर्तीमा चीज के छ ।
हुन्छन् मान्छे पशुका विच मधुर मिठा मित्रता प्रेम भाव
त्यस्तो मैत्रीय भाव पशु र मनुजमा वढ्छ विश्वास माझ
विश्वासैमा पशु त्यो मनुजशरणमा वस्छ निर्धक्कसाथ
मान्छेको आज मान्छेसंग किन कसरी हुन्छ दुर्भाव रोज ।
मैत्रेय भावनाको वस नजर परी शत्रु ती मित्र वन्छन्
आस्था विश्वासदृष्टि असल नियतले विष अमृत बन्छन्
मान्छेमा मित्रताको किरणकण नयां रोपी सदभाव चोखो
फालौ धोइ पखालौ कलुषित मनको तुच्छ तृष्णा तुवांलो ।
कालो मैलो अमिलो प्रदुषित धमिलो भावनाको विकार
मैत्रेय भावनाले रविकिरणसरि चम्किलो बन्छ तारा
मान्छेका तुच्छ तृष्णा कुपित कुमति नष्ट हुन्छन् तमाम
मैत्रेय भावनाले रिस र इख जली वढ्छ आत्मीय प्रेम ।
सङ्लो निर्मल् उज्यालो रविकिरण हो मित्रताको प्रकाश
छर्दै फ्यालौ पखालौ कलुषित मनको भावना द्वेष क्लेश
लेखौ सम्बन्ध हाम्रो युग युग रहने मित्रताको मसीले
वाधी विश्वासको त्यो कसी र कसममा यत्न पर्यत्न कार्य ।
वन्धुन्व प्रेम वृद्धी सुख सयल दिगो शान्ति सदभाव वृद्धि
ऐश्वर्य यश वृद्धि वल तरस सवै शक्ति सामर्थ्य वृद्धि
उद्देश्य कार्य सिद्धि नविन नविन ठूला उन्नति जोश वृद्धि
मैत्रेय भावनाले मनुज जिव सवै धर्ती कै आयू वृद्धि ।
त्यो शत्रू भावनाले धन जन वलको हुन्छ सर्वश्व नास
सामर्थ्य शक्ति सारा विलिन पतन भै हुन्छ आफ्नै विनास
हाम्रौ आफ्नै सवैको र जगतभरको साक्षी हो भूतकाल
मैत्रेय भावनाको अनुसरण गरौ आज सन्देश यै छ ।







