
संविधानसभामा रहेका १९७ जना महिला सभासदहरुको बायोग्राफी सहितको पुस्तक सार्वजनिक गरिएको छ । संविधासभाका महिला सदस्यहरु नामक पुस्तकको सभामुख सुवासचन्द्र नेम्बाङ र उपसभामुख पूर्णकुमारी सुवेदीले सार्वजनिक गर्नु भएको हो । ९०३ पृष्ठको पुस्तकमा नेपाली राजनीतिमा महिलाको योगदान, नेपालमा महिला आन्दोलन शुरुवात, अन्तराष्ट्रिय महिला आन्दोलनको अनुभव, राणाकालमा महिला आन्दोलनको विस्तार, पञ्चायत कालमा महिला आन्दोलन र संघ संस्थाको भूमिका, २०४६ सालको जनआन्दोलन पछि राजनीतिमा महिला सहभागिता, स्थानीय निकायमा महिलाको प्रतिनिधित्व, संसदीय निर्वाचन तथा संधिवानसभामा महिलाको सहभागिता, सशस्त्र द्वन्द्वमा महिलाको सहभागिता र भूमिका, संविधान निर्माणमा महिला सहभागिता एवं भूमिका आदि महत्वपूर्ण विषयहरुलाई अध्ययन अनुसन्धान समेटिएको छ ।
संविधानसभा सचिवालय, महिला सभासद् समूह, ककस नेपाल, कानून समाज र इन्टरनेशनल आइडियाले संयुक्त रुपमा प्रकाशन गरेको पुस्तक नेपाली र अंग्रेजी दुबै भाषामा रहेको छ ।







