“तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ- ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन डराएको हो- मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स बनाएको यो संसार हेरेर मान्छे अझै रमाइरहेका छ तर ईश्वर हेर्न डराइरहेछ ।‘’
“तीतो पीडालाई मीठो बनाएर मान्छेले मान्छेलाई न्यूरोडको गुदपाक जस्तै गरि खुवाइरहेछ । मान्छे युगौदेखि निरन्तर खाइरहेछ ।”
“जापानको जयनेपाल रेष्टुरेन्टका काम गर्ने सेतीमाया हाम्रो साँस्कृतिक राजदूत हुन् । सेतीमायाको गुन्युचोलोलाई जापानका हजारौं नारीले चिनेका छन् तर हाम्रा नेपाली चेलीले गुन्युचोलो भनेको के हो सोध्न थालेका छन् ।”
“मान्छे आज व्ल्याक बोर्डमा चकले लेखिन अक्षर भएको छ लेखिदै मेटिदै । सिद्धान्तका दोकानमा मान्छे कुँडाकर्कटको भाउमा विकेको छ । आफूले आफूलाई कुँडाकर्कट बनाएको छ मान्छेले । मान्छेका क्रेता र विक्रेता प्रसस्त छन् देशमा ! सस्तोमा किनेर महँगोमा बेचेका छन् मान्छेले मान्छेका मूल्य र मान्यतालाई !”
“एउटा मान्छे महासागरको एक्लो माझी नै किन न होस् आकाशमा जस्तै हृदयमा पूर्णिमाको जुन झुल्काउने प्रयत्नमा छ ऊ ।”
बोल्दा बोल्दै एकछिन रोकियो । त्यो ऊ को हो सायद उसलाई मात्र थाह छ ।
सबैले अनुमान गरेका थिए अरुले झैं उसले पनि आज टुटेफुटेको एउटा कविता सुनाउँछ । शब्दका बोझले थिचिएका बोझिला कविता जसरी अरुले सुनाए । अनि किताबको वाह ! वाह ! गर्छ जसरी अरुले गरे । तर उ आज एक्कासी फरक रुपमा प्रस्तुत भयो । सन्दर्भ छ एक किताव विमोचनको ।
उ त्यस्तो प्रखर वक्ता पनि होइन तर सबैको ध्यान क्रमशः केन्द्रीत गर्दैछ । किताबकी लेखिकाका बाहेक धेरै अविश्वासी आँखाहरु उतिर एकहोरिएका छन् । उसले किताबको बारेमा केही बोलेन । मात्र भन्यो- “यो किताबको बारेमा धेरैले धेरै कुरा बोलिसक्नु भएको छ । संसारमा अरु धेरै किताव लेखिन बाँकी छ ।” लेखिकाको अनुहारमा पीडाको विम्ब छायो । एक नजर लेखिकातिर दौडायो र ऊ फेरि बोल्न थाल्यो । उसको आवाज चर्किन थाल्यो ।
“म को हूँ मेरो नाउँ के हो मेरो थर के हो मेरो जात के हो ?” अनौठा प्रश्नहरु तेर्स्यायो ।
“मेरो नाउँ शिव, शंकर, राम, श्याम, हरि, कृष्ण, कृपा, कुञ्ज, कुमार, बहादुर, प्रकाश, प्रसाद, नाथ, लाल, जे होस् !”
“मेरो थर पौड्याल, पन्त, पनेरु, पोख्रेल, खनाल, खाती, रेग्मी, राई, कार्की, धामी, कामी, सत्याल, सार्की, मगर, महर्जन, विष्ट, श्रेष्ठ, कटुवाल, भेटुवाल, लिम्बु, किलम्बु, किराँत, चमार, मुसहर, बाँतर, सतार, धामी, धिमाल, थारु, खवास, चौधरी, मिश्र, मण्डल, मुसहर, महतो, हजाम, पण्डित, बनिया, खनिया, कैनी, कुमाल कुर्मी, यादव, योगी, ओझा, अहिर, आलम, खान आदि-इत्यादि जे होस् !”
थोरै मान्छेमा भूसको आगो जस्तो गरि भित्रभित्रै चलेको गाइँगुइँ पनि शान्त भयो । कसैलाई थाह छैन यसले के भनिरहेको छ । कतिले पागलको संज्ञा पनि दिन थाले ।
“मेरो जात बाहुन, क्षेत्री, वैश्य वा शूद्र जे होस् !”
“म कसको छोरो कसको बाउ कसको दाजु कसको भाइ कसको भतिजो कसको काका कसको मामा कसको सालो कसको भिनाजु कसको लोग्ने कसको प्रेमी आदि-इत्यादि जे होस् !”
मान्छेको ध्यान झन् खिच्न थालेको छ उसले । केही बेर अघि रिसाएका आँखाहरु अहिले उत्सुक हुदैछन्- यसले के भन्न खोजेको आफैमा प्रश्न गरिरहेछन् ! विमोचन सभाको माचमा माला लगाएर बसेकी लेखिकाको अनुहार खग्रासको बिम्बले पुरै ढाकिएको छ । उसले किताबको बारेमा अझै केही बोलेको छैन । लेखिकाको बिरुदावली गाएको छैन । सायद उनको मनमा लागेको छ- यसले मेरो अपमान गरिरहेछ ।
“म जुनसुकै नामनामेसी जातजाती भाषाभाषी थरथरान रस्तीबस्ती वा सम्प्रदायको मान्छे किन न हूँ म कहीँको कोही हूँ वा म जहाँको जो सुकै हूँ ! म हिन्दु वौद्ध मुसलमान इसाई यहूदी वा अरु जे हुँ !”
उ एकनास बोलिरहेको छ । निशान्त शान्त छ हल अहिले ।
“म जहाँ रहुँ ! घरदेशमा रहूँ कि दशदेश दूर परदेशमा रहुँ, कसैसँग कुनै साइनोमा बाँधिएर धरतीमा रहुँ कि पातालामा रहूँ स्वतन्त्र रहुँ । परतन्त्र रहुँ बाँचेर मरिरहुँ कि मरेर बाँचिरहुँ मसँग यी सबैको एउटै उत्तर छ ।”
धेरै मान्छे मुखामुख गर्न थाले यसले के भनिरहेछ अथवा के भन्न खोजिरहेछ ? केही कानसँग मुखहरु खासखुस र गानगुन गर्न थाले यो पागल भयो कि क्या हो- यसले भन्न खोजको के हो ?
उ निरन्तर बोलिरहेछ । खासखुस गर्ने मुखहरु बन्द हुन्छन् । ध्यानसँगै सबैका आँखा उसैपट्टि तानिन्छन् ।
“हो मसँग यी सबै प्रश्नको एकलब्य जस्तो एक्लो उत्तर छ । त्यो एकलब्य उत्तर नै मेरा पूर्ण उत्तर र सम्पूर्ण उत्तर पनि हो । आफूले आफूभित्रको सघन अँध्यारोलाई चिर्न सक्यो भने सायद उत्तरको त्यो उज्यालोमा मान्छेले आफूलाई चिन्छ तर कुनै कुराको ‘ग्यारेन्टी’ छैन जीवन जस्तै ।”
“मैले आजसम्म आफूलाई नै चिन्न सकेको छैन म तपाइँलाई कसरी चिनुँ ?” उसका नजर ती लेखिका तिर जान्छन् । लेखिका नजरमा बारुलाको बास झल्किन्छ ।
“तर आज मसँग यसको पनि उत्तर छ । मैले आफूलाई र तपाइँलाई चिन्ने । त्यो उत्तर हो म- नेपाली ! मेरो पहिलो परिचय- नेपाली !” ताली बजाउँदै सबै मुखामुख गर्छन् ।
“मेरा सम्पूर्ण प्रश्नको सामुहिक र सम्पूर्ण उत्तर हो- नेपाली ! मभित्रका अनेकताभित्रको एकता हो- नेपाली । म भित्रका अथाह अन्तरभिन्नताभित्रको एकरुपता हो- नेपाली । मेरो आस्था हो- नेपाली । हो त्यसैले मेरो पहिलो परिचय हो- नेपाली !” बिस्तारै फेरि ताली बज्न थाल्छ । उ अझ जोस्सिन थाल्छ ।
“कहिल्यै मेरेर नजाने र कसैले हरेर लान नसक्ने मेरो परिचय हो- नेपाली ! मरेर पनि बाँच्ने- नेपाली ! दुःखमा पनि हाँस्ने- नेपाली ! मेरो मन- नेपाली ! तन- नेपाली ! पन- नेपाली ! मेरो जीवन- नेपाली ! मेरो अस्तित्व- नेपाली ! मरो अस्मिता- नेपाली !”
“म नेपाली ! नेपालको छोरो- नेपाली नेपालको छोरी- नेपाली !”
“त्यसैले म भन्छु- नेपाली हूँ म नेपालको माटो छातीमा सजाउँछु ; पूर्खाले पुजेको माटोको टीका निधारमा लागाउँछु ।”
“म स्वदेशमा रहूँ वा दशदेश दूर परदेशमा रहूँ जहाँ रहूँ सधैं म भन्छु-
मेरो नाउँ नेपाली हो ।
मेरो थर नेपाली हो ।
मरो जात नेपाली हो ।
मेरो भाषा नेपाली हो ।
मेरो भावना नेपाली हो ।
मेरो आस्था नेपाली हो ।”
“मेरो विश्वास नेपाली हो र मेरो विचार नेपाली हो । त्यसैले म नेपाली हूँ । नेपाली भएर जन्मिएको नेपाली र नेपाली भएरै मर्ने नेपाली ।”
“मेरो पहिलो परिचय बनेको मेरो नाउँ- नेपाली मलाई कसैले दिएको हैन । यो कसैबाट उपहार उपाधी उपमा र विषेशणका रुपमा पाएको हैन । यसमा कसैको अधिकार छैन । मलाई कसैले गुताइदिएको पगरी पनि हैन यो । नाउँका लागि मलाई दिइएको नाउँ जे भए पनि जन्मदै पाएको मेरो जन्मसिद्ध नाउँ नेपाली हो । मेरो यो नाउँ नै अकाट्य छ अमेट्य छ र अभेद्य छ । हृदयको शिलापाटीमा कुँदिएको छ । म नेपाली माटोको सन्तान- नेपाली ! नेपाली भएर नेपालआमाको कोखबाट जन्मिएको नेपाली । नेपाली भएरै नेपालआमाको काखमा हुर्किएको नेपाली । जहाँ रहे पनि हूँ भने म सबैभन्दा पहिले नेपाली हूँ छु भने म सबै पहिले नेपाली नै हुने छु ।”
“म जसको छोरा भएपनि नेपालीको छोरा । जसको बाबु भएपनि नेपालीको बाबु । नाम नामेसीमा सबैभन्दा पहिले म नेपाली नामको हूँ । जातजातिमा सबैभन्दा पहिले नेपाली जातीको हुँ । छत्तीस वर्णभन्दा अगाडि आज एक वर्ण थपिएको छ । त्यही पहिलो वर्ण हो मेरो वर्ण- नेपाली । नातासम्बन्धमा मेरो सबैभन्दा पहिलो नाता हो- नेपाली । हुन सक्छु त्यसपछि कसैको दाजु भाइ काका भतिजो मामा ज्वाइँ सालो भिनाजु लोग्ने वा प्रेमी । आज म यहाँ आफू नेपाली भएर सबैलाई नेपाली भनेर चिन्दैछु । तपाइँहरुको जन्मपछिको नाउँ मलाई थाह छैन तर जन्मदाको नाउँ थाह छ त्यो हो- नेपाली । सबैले भनिदिनुस्- नेपाली हूँ म ।”
समवेत स्वरसँगै ताली बज्छन् । लगातार तली केहीबेर गुन्जिन्छन् । ताली क्रमशः बढ्दै जान्छ । अब सबैको ध्यानको केन्द्रविन्दु बनेको छ उ । लेखिकाका आँखामा अझै बारुला नाचिरहेका छन् । अनुहारलाई खग्रासले ढाकिसकेको छ । हातका मुठी खुल्दैनन् उनका ।
“तराईदेखि हिमालसम्म मेचीको वल्लो किनारादेखि महाकालीको पल्लो किनारासम्म अनि देशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तान-दरसन्तानसँग मेरो एउटै नाता छ एउटै साइनो छ- म नेपाली हामी नेपाली । नेपालीका वन्धुवान्धव सबै नेपाली ! सबैलाई म सबैभन्दा पहिले नेपाली भनेर नै चिन्छु हुनसक्छ त्यसपछि कथित नाउँ र थरले ! त्यसैले म फेरि भन्छु- म सबैभन्दा पहिले नेपाली हूँ र मेरो पहिलो परिचय नेपाली हो ।”
“तराइँमा धोतीकुर्ता लाए पनि म सबैभन्दा पहिले नेपाली हूँ । पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिले नेपाली हूँ । हिमालमा चौंरी चराएर हिडे पनि म सबैभन्दा पहिले नेपाली हूँ ।”
“त्यसैले फेरि पनि भन्छु – नेपाली हुँ म । ईश्वरसँग प्रार्थना गर्छु- आफूलाई सधैं नेपाली भनिरहूँ मेरो पहिलो परिचय सधैं नेपाली बनाइरहूँ नेपाली भनाइरहूँ नेपाली देखाइरहूँ । शीरमा सधैं सगरमाथा बोकीरहूँ मुटुमा मेचीकाली सधैं बगाइरहूँ । म जस्तै सबै नेपाली ‘म’ हरु मनहरु, मननहरु, मतहरु, मनपेटहरु, मनसाहरु, मनोभावहरु, मन्थनहरु र मगजहरु सवैभन्दा पहिले नेपाली ‘म’ हुन् र सधैं नेपाली ‘म’ नै भइरहुन् । सबै नेपाली ‘म’ हरुले आफ्नो पहिलो परिचय नेपाली नै बनाइरहुन् ।
“मान्छेले आज मान्छेसँगको नाता सबैभन्दा बलियो बनाउनु छ तर मान्छे आफ्नै कारणले आज आफै संकटमा परेको छ । अब मान्छेले आफूभित्र आफूलाई नयाँ आकारमा निर्माण गर्नु छ । नयाँ विम्बमा खोज्नु छ । नयाँ परिभाषामा परिभाषित गर्नु छ । आफूले आफूलाई चिन्नु छ । आफूलाई चिन्नू भनेको अर्कालाई आफू चिनाउनु हो । अब आफ्नै आँखा पहिले खोल्नु छ अनि सायद भोलि ईश्वरका पनि आँखा खुल्नेछन्……… !”
“मान्छेमान्छेबीच विभेदको कारण बनेको जातपातको बर्लिनपर्खाललाई मान्छेले भत्काइसकेको छ भने बाँकी रहेको ग्रेटवाल पनि कुनै दिन भत्किन सक्छ । तर हामी अहिले आएर यसको जग खन्दैछौं…… हामी उचनीच, जातपात, धर्म र राजनीतिको दूर्गन्धित दलदलबाट निस्किएर मात्र ‘नेपाली’ भएर एकपटक सोचौं त ……. !”
उ बोल्दाबोल्दै सभामा बीचबाट एउटा आवाज निस्कियो ‘पेट्रियोटिक इन्लाइटमेन्ट ! ईट इज पेट्रियोटिक इन्लाइटमेन्ट !’ कुँजिएर बसेका बाँकी हातले पनि ताली पिट्न थाले तर लेखिकाका मुठ्ठी कसिएकै थिए अनुहार उस्तै थियो खग्रासले खाएजस्तो पूर्ण अँध्यारो । ताली बजिरहेका थिए लेखिका उठेर पाइखाना तिर लागिन् ।
अमेरिकामा बसेको भए पनि विमोचन समारोहमा नेपाली ‘ट्याम’ मा आइपुगेका एक महाशयले उसलाई सोध्दै भने- “तपाइँको नाउँ के रे विचारहरु त प्राणवान् छन् नि !”
संयोग उसले आफ्नो नाउँ “शिव प्रकाश” नै बतायो । उद्घोषकले थपे “शिव प्रकाश नेपाली” अर्थात “नेपाली शिव प्रकाश !”
नोभेम्बर ३० २०११ बोस्टन अमेरिका ।









Yesto hos na katha…… wah !