काठमाडौं, फागुन ७(एनयमक्याफे) दाइजोको विषयलाई लिएर सन् २०११ मा मात्र १३ जना महिलाको हत्या भएको छ । त्यसमध्ये रौटहटमा मात्र ८ जना महिला मारिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार काठमाडौंमा मानवअधिकार वर्ष पुस्तक २०१२ सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । इन्सेकका अनुसार यसवर्ष जम्मा ३ सय ७७ जनाको हत्या भएकोमा १२ जना राज्य पक्षबाट मारिएका छन् । महिला हिंसाको घटनामा ६ सय ४८ जना पीडित भएकोमा घरेलु विवादका कारण ५४ जना मारिएका छन् । यी घटनाले मुलुकमा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको इन्सेकले जनाएको छ । तर सन २०१० को तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएपनि समग्र मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको इन्सेकका कार्यकारि निर्देशक विजयराज गौतमले जानकारी दिनुभयो ।
गएको वर्ष तीनवटा सरकार बने पनि सबैको चरित्र समान देखिएको इन्सेकको ठहर छ । इन्सेकले यस वर्ष भएका मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका २ हजार ३ सय ६१ घटनाको अनुगमन गरेको थियो । इन्सेकले सन् १९९२ देखि सुरु गरेको मानवअधिकार वर्ष पुष्तकका २० वटा श्रृङ्खलाहरू प्रकाशन भएका छन् ।
सम्बन्धित समाचार







