आधुनिक बिश्वको गरिब धनि, शिक्षित अशिक्षित, सबै समाज र देशमा समय समयमा मानब सभ्यतालाइ नै कलंकित पार्ने, मन मस्तिष्क नै स्तम्भित पार्ने अविश्वनीय प्रकारको घरेलु हिंसाको घटना घटी नै रहेको छ l संसारको एउटा साश्वत सत्य के हो भने कुनै पनि मानिस (पेशेवार अपराधी भैसकेको बाहेक ) ले आफूलाइ इच्छा वा रहरले खराब वा अपराधी बनाउन चाहदैन l सामान्य वा बिभत्स अपराधजन्य घटनाका पछाडी कैयौ उत्प्रेरकतत्वको भूमिका रहेको हुन्छ .सिधा हेर्दा व्यक्ति कारक देखिए पनि पर्दा पछाडि धेरै कारण लुकेका हुन्छन l अपराध शास्त्रका बिज्ञहरुका अनुसार प्रत्येक २४ घण्टामा कुनै पनि समय केहि पल मानिसको मस्तिष्कमा बिबेक सुन्यता छाउने गर्दछ अर्थात जायज वा नाजायज काम के गर्दैछु भन्ने सोच्ने क्षमता शुन्य भएको हुन्छ र त्यो बिबेक शुन्यताको समयमा कुनै पनि प्रकारको तनाब वा उत्तेजनात्मक बाताबरण उपस्थित हुन् पुग्यो भने मानिसले हिंसात्मक कार्य गर्द्छ बहु चर्चित र बिश्वलाइ नै स्तम्भित पारेको नेपालको दरबार हत्याकाण्डलाइ पनि अपराध शास्त्रका बिज्ञहरुले यस्तै बिबेक सुन्यता स्थितिको परिणाम भनेका थिए l ५ बर्ष आगाडी कै कुरो हो बानेश्वरका एक व्यक्तिले भान्सामा काम गर्न अल्मल्याएको निहुमा हँसियाले हानेर छोरीको हत्या गर्न पुगे तर तत्काल पछुताउदै बिक्षिप्त भए जुन त्यस्तै बिबेक सुन्यता अबस्थाको परिणाम थियो त्यो अवस्थाको बाबजुद l अपराध बिज्ञानमा अध्ययन र अनुसन्धानकर्ताहरुले आज सम्म स्थापित गरेको मान्यता के हो भने कुनै पनि अपराधको पछाडी मुख्य तिन तत्व रहेको हुन्छ WOMEN ,WEALTH र WINE l मानिस जन्मे पछी सुरु सुरुमा भोक लाग्यो पेट दुख्यो भने मात्र रुन्छ जब जब ठुलो हुदै जान्छ उसको मस्तिष्कमा बिस्तारै राम्रो नराम्रो स्वभाब सोच र आचरण ग्रहण गर्दै जान्छ र कुनै मोडमा पुगेर असल खराबको व्यवहार देखाउने गर्दछ l त्यसै गरि अपराध पनि बिभिन्न बाहिरी कारकतत्ववाट प्रभाबित हुदै हुर्कन्छ र घटनामा परिणत हुन पुग्दछ l
घरेलुहिंसाको पछाडिका उत्पेरक तत्वहरुको प्रसंगमा हालै घटित गीता हत्या काण्ड तातो बहस र चर्चा मा छ l घटना पश्चात त्यो अपराध सुनियोजित वा परिस्थितिजन्य के थियो भन्ने बहस भै राखेको छ l घटनाकि एक मात्र साक्षी मृतक गिता मात्र भएकीले वास्तबिक दृश्य अब सामुन्ने आउने छैन l अभियुक्त कोइरालाले सके सम्म आफुलाइ बचाउने जुक्ति स्वरुप परिस्थितिजन्य वा आकस्मिक भन्ने नै भए तर २१ दिने बिदामा स्वदेश फर्कदा आफू सम्बन्धित कुनै पनि निकायलाइ खबर नगर्नु, अध्यागमन कार्यालयमा उनि नेपाल फर्केको कुनै तथ्यांक नहुनुले कोइरालाले पूर्व नियोजित मै त्यो बिभत्स अपराध गरेको भन्ने तर्कलाइ बल पुगेको छ l हुन त यो जघन्य अपराधले यो हद सम्मको चर्चा पाउनुमा अभियुक्त एक जिम्मेवार ओहोदामा रहेको कारण नै हो भन्नु अन्यथा न होला l नत्र त केहि महिना अगाडी एक महिलाले आफ्नो काम बासना पुरा गर्न नसकेको भन्दै श्रीमान को जनेन्द्रीय काटी दिएको वा सो भन्दा दुइ हफ्ता अगाडी मात्रै पूर्वमा एक जनाले विदेशवाट फर्केकै दिन श्रीमतीको हत्या गरेको वा गत हफ्ता मात्रै किर्तिपुरमा लोग्ने र सासु मिलेर रंजना को हत्या भएको खबर तर्फ भने संचार र आफूलाई अधिकार कर्मी भन्नेहरुको त्यतिकै चासो र अनुसन्धानमा ध्यान जानु पर्ने हो कसैले चासो दिएको छैन l घरेलु हिंसाको कुरो गर्दा कतिपयको ध्यान श्रीमानवाट श्रीमतीलाइ गर्ने दुर्ब्यबहार तर्फ मात्र जान सक्छ तर बिडम्बना भनौ कि नियति कुनै न कुनै रुपमा महिला माथि महिला नै जाइ लागेको देखिन्छ अझ भनौ पुरुषलाइ हिंसामा उत्प्रेरणा गर्नेमा सासु, आमाजु साइनो धारी महिला नै अगाडी छन l
समाजलाइ स्तम्भित पार्ने यो दुखद घटना पश्चात मृतक गीता कि आमा, बिभिन्न अधिकार कर्मी अनि प्रहरीवाट गीता र रंजन बिचको बिबाद सम्बन्धमा आएको बिभिन्न भनाइले के बुझाउदछ भने यो क्रूरता निम्त्याउने सम्मको प्रेरकतत्व गीता कि आमा, प्रहरी अधिकारकर्मी अनि ढिलो न्याय सम्पादन गर्ने अदालत हुन जसले ५/५ बर्ष सम्म गीता र रंजनको मानसिक पीडालाइ बुझन सकेनन, कम गर्न सकेनन, दुवै पक्षलाइ कसैले न्याय दिन समर्थन देखाएनन र अन्तत्वगत्वा एउटा पक्षले ज्यान गुमाउनु पर्यो भने अर्को पक्ष हत्यारा बनेर जिउदै मरेतुल्य भयो l बरु एउटा पक्षलाइ सहयोग गर्ने बहानामा अर्को पक्षलाइ अत्यधिक मानसिक तनाब दिएको स्पष्ट देखिन्छ जसको परिणाम आत्महत्या वा हत्यामा पुगेर टुंगिनु नै थियो l रंजनले आत्महत्या गरेको भए गीता प्रति घृणा र रंजन प्रति सहानुभूति हुन्थ्यो हत्या गर्न पुगे अपराधी भए l लोग्ने सित छुट्टिएर बस्ने इच्छा राखेकी मृतक कि आमा र अधिकारकर्मी हरुको दबाब र प्रभाब मा ५/५ बर्ष सम्म तनावमा परेकी गीता को मनोदशालाइ मात्र होइन हाम्रो देशका नेता, प्रशासक, प्रहरी, सेना जो आफुलाइ माथिवाट नै अरु माथि शासन गर्ने अधिकार लिएर आएको जस्तो मानसिकतावाट ग्रस्त हुन्छन l एक त उपल्लो दर्जाको आडम्बर र दम्भ, दोस्रो बलियो राजनैतिक पहुच र उठबस अनि बाक्लो जन सम्पर्क भएको मानिसलाइ बारम्बार आफ्ना सहकर्मी वा आफू भन्दा तल्लो दर्जाका अधिकृतको अगाडी अनि महिला अधिकार कर्मीहरुको सामुन्ने अभियुक्त भएर उभिनु पर्दा पैदा हुने मानसिक द्वन्दलाइ बुझ्ने क्षमता नदेखाउनु यो दुखान्त घटना पछाडिको गहन भुमिकाकारी कारकतत्व बनेको देखिन्छ l
श्रीमान श्रीमतीको बिबाद शयन कक्ष वा भान्सा घरवाट सुरु हुन्छ र त्यहिवाट अन्त हुनु पर्छ l त्यसलाइ हाम्रो समाजले लोग्ने स्वास्नी को झगडा परलको आगो पनि भन्दछ l जब दुइ बिचको बिबाद कोठावाट निस्केर परिवार आफन्त र समाजमा छताछुल्ल हुन्छ त्यस पछी कुनै दुखद घटना पछी मात्र टुंगिन्छ l श्रीमान श्रीमती बिचको मधुर संबन्ध त्यस बेला सम्म मात्र कायम रहन्छ जब सम्म एक अर्का प्रति विश्वास माया र स्नेह रहन्छ l जुन दिन कुनै एक पक्षले विश्वास गुमाउन पुग्छ त्यस पछी संसारको कुनै नीति नियम र दबाबले उनिहरुलाइ एक बनाउन सक्दैन l अमेरिकामा ४ दशक सम्म संबन्ध बिच्छेद सम्बन्धि मुद्धा हेरेका एक बरिष्ठ कानुनबिदका अनुसार “श्रीमान श्रीमती बिचमा सानो वा ठूलो नभनि कुनै दीर्घकालीन असर पार्ने बिषयमा बेमेल वा असमझदारी छ भने तत्काल छुट्टिएर बस्नु जस्तो राम्रो अर्को उपाय हुनै सक्दैन संगै बसेर लामो समय सम्म मानसिक तनाव झेल्नु पर्दा र अन्त हुने आशा पनि नदेखिदा आत्महत्या वा हत्यामा पुगेर मात्र विवादले बिश्राम लिन्छ “..गत बर्ष अमेरिकाका पूर्व उपराष्ट्रपति अल गोर दम्पतीले एक अर्का प्रतिको आकर्षण सकिएको भन्दै आफ्नो ४ दशक लामो दाम्पत्य जीवनवाट अलग भए l त्यस्तै कैयौ प्रख्यात कलाकारहरु ले २०/३० बर्षे दाम्पत्य जीवनवाट अलग भएका छन l यसको अर्थ के भने यो समाजका मानिस अरुले के भन्छन कि भन्ने तर्फ वास्ता गर्दैनन र आफ्नो पदीय आडम्बर पनि देखाउदैनन l आफ्नो इच्छा अनुसारको जीवन रोज्ने मानसिक क्षमता राख्छन र स्वतन्त्र छन l हाम्रो समाजमा अबस्थित अर्को समस्या के भने हामीहरु अरुको पारिवारिक वा दाम्पत्य विवादमा आवश्यकता भन्दा बढीनै चासो राख्ने गर्दछौ .उमेर पुगेका सन्तानलाइ उसको जीवनको बिषयमा उसैलाइ स्वतन्त्र निर्णय गर्न समेत दिदैनौ l गीता हत्या काण्डवाट समाजका सचेत बर्गले के पाठ सिक्नु पर्छ भने कतै हामी शुभ चिन्तक, आफन्त वा अधिकारकर्मी बनेर कुनै पक्षको हितमा भन्दै अनावश्यक हस्तक्षेप गरेर सोहि पक्षलाइ नै पीडा दिई राखेका त छैनौ ? सम्भावित दुष्परिणामको आंकलन नै नगरी आफ्नो प्रभाब देखाउन गैह्र न्यायिक कार्यमा अभ्यस्त त भै राखेका छैनौ ? घरेलु विवादलाइ सुल्ट्याउने अधिकार प्राप्त सरकारी निकायलाइ बेवास्ता गर्दै कतै अपरिपक्व अभ्यास त गरेका छैनौं ? केहि बर्ष अगाडी देखि अति सकृय देखिने यस्ता गैह्र सरकारी निकायको हस्तक्षेपवाट एकाध मादक पदार्थ खाएर श्रीमतीलाइ प्रगाडित गर्ने निम्न बर्गका पुरुषलाइ तह लगाउनु बाहेक शिक्षित वा अर्ध शिक्षित सहरिया परिवारका दम्पतीको बिबादलाइ कम गर्ने भन्दा उक्साउने र उत्तेजित पार्ने काम मात्र भएको देखिन्छ l
यो घटना पश्चात सरकार वा महिला अधिकार कर्मीको ध्यान श्रीमान श्रीमतीको मनोभावना, सोच र समझदारीमा एक मत हुन नसकेको अबस्थामा र उनिहरु बिच स्वयममा सम्झौताका उपायहरु सार्थक हुन नसकेको बिबादित मुद्धालाइ लम्ब्याएर दुवैलाइ मानसिक तनावमा राख्नु भन्दा संबन्ध बिच्छेदको सहज हुने कानुन परिमार्जित गर्न तर्फ खिचिनु अनिबार्य भएको छ l जसले गर्दा अर्को रंजन जन्मन नपाओस अथवा अर्की गीताले यस्तो नियति भोग्नु परोस l जहाँ सम्म सम्पतिको बाडफाडको कुरो छ पहिले त खरिद गर्दा नै आम्दानिको स्रोत देखाउने र जसले आयस्रोत देखाएको हो उसैको हक लाग्ने नियम बनाउनु पर्छ र संबन्ध बिच्छेद पछी श्रीमतीलाइ आधा होइन आवश्यक खर्च दिने व्यवस्था गर्नु पर्छ, जब सम्म श्रीमती ले दोस्रो बिबाह गर्दिनन l अर्को महत्वपूर्ण कुरो बिधवा वा संबन्ध बिच्छेद भएका महिलाले अर्को बिबाह गर्न प्रोत्साहित गर्ने नीति नियम पनि ल्याउनु पर्छ l केहि बर्ष अगाडी पनि यस्तै पारिवारिक तनाव र माइती पक्षको अत्यधिक हस्तक्षेपले गर्दा एउटी शिक्षित र सार्बजनिक व्यक्तित्व बनाइ सकेकी महिलाले श्रीमानको डरले स्वयम आत्महत्या गरेकी थिइन l एकातिर सम्पति कै लागि यस्ता बिभत्स घटनाहरु घटी राखेको छ अर्को तिर स्वयम सरकार भने महिलाको नाममा घर जग्गा खरिद गर्दा राजस्व छुटको बहुलठ्ठी नीति घोषणा गर्छ l एक त नेपालको अदालतमा ८० % मुद्धा घर जग्गा सम्बन्धि नै छ त्यसमा श्रीमान श्रीमतीले संबन्ध बिच्छेद पश्चात पनि अंशका लागि लामो समय अदालत वा मालपोत धाउनु पर्ने व्यवस्थाले निक्कै ठूलो मानसिक तनावलाइ निम्तो गरि राखेको हुन्छ l संबन्ध बिच्छेदको लागि प्रशासन जाने मौजुदा व्यवस्था खारेज गरि सिधै अदालत जाने र अदालतमा छिटो सो मुद्धाको टुंगो लगाउन छुट्टै बेन्चको व्यवस्था गर्ने र संबन्ध बिच्छेदको प्रक्रिया टुंगिएको निर्णयसंगै सम्पूर्ण लेना देनाको पनि छिनोफानो गरि दिनु पर्छ, ताकी फेरी उनिहरु बिच बारम्बार सो सम्बन्धमा अरु थप बिबाद नहोस र दुखद घटना हुने अवस्था नआओस l
यस्तै पारिवारिक बितण्डावाट सजग भएरै होला आज ६० % जापानी महिला बिहे नै नगर्ने अनि बिहे गरेका मध्ये पनि ५० % ले सन्तान नजन्माउने पक्षमा पुगेको त्यहाँको सरकारी तथ्यांक बाहिर आएको छ जसको परिणाम बिश्वमा जापान मात्र एक्लो त्यस्तो राष्ट्र हो जहाँ जनसंख्या वृद्धि दर घाटामा जादैछ र सन २०६० सम्ममा जापानको जन संख्या ३० % घट्ने अनुमानको समाचार भरखरै आएको छ l








