कल्की : शिव प्रकाश

केही दिन अघि तर धेरै दिन पछि शाम्भवीको फोन आयो ।

“ शार्दूल म बेलाबेलामा अतीतका ती फाँटमा त्यसैत्यसै डुल्न पुग्छु । हामीले टेकेका ती डोब टेक्दै हिड्छु अनि त्यहाँ त्यही तिमीलाई देख्छु । त्यही भएर आज पनि फोन गरेकी अर्थात तिमीलाई सम्झेर ।“

“शाम्भवी तिमी र ममा यही फरक अझै बाँकी छ । तिमी बेलाबेलामा सम्झन्छौ तर म कहिल्यै विर्सन्न । कहिल्यै नविर्सेपछि सायद सम्झीहरनु नै पर्दैन !“ केहीबेर हाँसोमा परिणत भएर हाम्रो सम्वाद सकिन्छ ।

शाम्भवीसँग मेरो एकप्रकारको सम्मानित सहवास थियो । आत्मियता र मित्रताको आवादीमा फैलिएको हाम्रो सहवासमा स्नेहका नाता, साइना र सम्बन्धहरु थिए तर उसँग मेरो केही छैन । न कुनै नाता­सम्वन्ध न आत्मियता न मित्रता ! यी केही नहुँदा पनि मेरो मानसपटलमा बसेको शाम्भवीको सम्झनालाई उसले प्रतिस्थापित गर्दैछे । शिलामा खोपिएकाअक्षर जस्तै मेरो स्मरणमा खोपिएर बसेकी छे त्यो केटी ! शाम्भवीलाई कहिल्यै नबिर्से जस्तो अब उसलाई म कहिल्यै नबिर्सने भएको छु ।

त्यो केटी ! कति खुशी छे आफैंमा ! नितान्त नौलो त्यो आयतीत पनमा ! सापटी लिएको सँस्कारमा ! तिर्नु नपर्ने गरि ग्रहण गरेको त्यो उधारो सभ्यतामा ! यी सबैलाई उसेले जीवनशैली बनाएकी छे । ठीकै पनि छ, जीवन अरुका लागि साँच्ने भए पनि आफू खुशी बाँच्ने हो सुन्दरता अरुका लागि भए जस्तै ।

म कसैको जन्मदिनको एउटा सानो जमघटमा छु । अमेरिकामा “वर्थ डे“ मनाइए पनि नेपाली सँस्कार र परिकार प्रसस्त छन् । भित्र अर्को कोठामा उ बोल्दै छे । केटाहरुको झुण्ड छ उ उभिएकी छे । मेरा आँखालाई उसले आफूतिर बारम्बार तानीरहेकी छे । मेरा जस्तै हरेक आँखाहरु उसमा ठोक्किएर एकछिन् रोकिएका छन् । अनि मेरा जस्तै हरेक निख्खर आँखा उसलाई निहाल्न वाध्य छन् तर त्यो केटीको आभारुप सामू मेरा आँखा धेरैबेर टिक्न सकेनन् ।

उसको आदिमरुपको आधाँभन्दा बढीभाग आकाश जस्तै खुल्ला छ । कताकति आकाशमा देखिएका वादलका पाटा जस्तै पहिरनका पाटाले लपेटिएको छ त्यो आदिम शरीर । उसले पहिरेको पोशाकले के छोप्न खोजेको हो ? के देखाउन खोजेको हो ? ठम्याउन सकेनन् मेरा आँखाले । नसकेपछि आँखा चिम्लनु भन्दा बरु मुन्टो बर्टानु ठीक ठाने । मैले मुन्टो बटारे । कान खुल्लै थिए आवाज सुनिरहेको थिएँ ।

मानिसको भीड बाक्लिदै छ । उ बोलिरहेकी छे उसको बोलीले सबैको ध्यान तानेको छ । बोलीसँगै उसको पहिरनले सबैका आँखा झन् मजाले तानेको छ । मानौ उसको शरीरमा पृथ्वीको भन्दा भारी गुरुत्वाकर्षण छ, स्याउ हैन आँखा तान्ने !

ठिटाहरुको हुल एक्कासी बाहिरिन्छ । भान्साको टेबुलमा म रसपान सहित खानपान गर्दैछु । त्यो हुलमा प्रायश परिचित अनुहार छन् तर त्यो एउटा अनुहार एकदमै अपरिचित छ मेरा लागि आकाशको तारा जस्तै । सबैले अंकल भनेर अभिवादन गरे तर उसले “हाई बडी“ भन्दै मसँग हात मिलाई । म एकछिन् अलमल्ल भएँ । अनि हग गर्न तम्सी, संकोच भयो ।

मैले नमस्ते भने मुखले तर मनमनै यसलाई सभ्यता र सँस्कार सिकाउँ की भत्रे लागेको थियो । कागको तीखो चोसोले पाकेको मेवा ठुँगे जस्तो ठुँगियो मेरो मन त्यो केटीको पहिलो व्यवहारले ।

“ ओ नमस्ते ! हाईू“ भनि उसले फेरि । झन् वेस्सरी ठुँगे जस्तो भयो तिखो चोसोले मेरो मन ।
हुलको एक ठिटोले भन्यो “उ प्रकाश अंकल हो ।“

उसले फेरि निसङ्कोच भनि “हाई, प्रकाश ! कस्तो छ तिमीलाई ?“ यो पटक अशिष्ठताको अर्को थप्पड हाने जस्तो भयो मलाई । भित्रभित्रै झन् दुख्यो ।

उ अँग्रेजीमा बोलिरहेकी छे म केही बोलिन । मेरो असहजताको महशूस अर्को ठीटोले गर्याे जस्तो लाग्यो । स्पष्टिकरण दिदै भन्यो– “अंकल, उ नेपाली बुझ्छे तर इङ्गलिस मात्र बोल्छे ।”

नसोधेको, नखोजेको र नसोचेको जवाफ दियो त्यो ठिटाले । बन्द ओठभित्र मेरा दाँत एक्कासी लड्न थाले आपसमा । टाउको भित्र बारुलो झै भन्भनिएको रिस दाँतले दाँतसँग पोख्न थाले ।

फेरि पनि म केही बोलिन । फिस्स दाँत देखाएर सहमतिको मुन्टो हल्लाएँ तर भित्रभित्रै मनमा उप्रतिको आव्रmोशको भेल उर्लिरहेको छ । मान्छेको मन कहिलेकाहीँ अनुहारमा अनुदित भए जस्तै मेरो मन पनि सायद अनुदित भयो होला उसले निधार खुम्च्याउँदै कुम कक्व्रm्याउँदै मधुर बोलीमा निर्लज्ज बोली “ओ माई डियर, ह्याण्डसम ! तिमी ठीक त छौ ?“ एकै स्वरमा भनि “तिमी साच्चै ह्याण्डसम देखिन्छौ ।“

“हजूर ठीकै छु ।”

“ तर प्रकाश, तिमी सहज अनुभव गरिरहेका छैनौ । मलाई त्यस्तै लागिरहेछ ।“ बोलीमा थोरै आवरण ढाकी आप्mनो पहिरन जस्तै ।

“हैन केही छैन त्यस्तो ।” उ अँग्रेजीमा बोलिरहेकी छे । म नेपालीमा जवाफ दिइरहेको छु । मभित्र यति बेलासम्ममा धेरै खुल्दुली, उत्सुकता र आव्रmोसको युद्ध एकसाथ चलिसकेको छ । मेरो सहजताभित्र असहजातको कालो बादल छाइसकेको छ । मेरो मनको शान्त तलाउको तहमा आवेगको दह मिसिन थालेको छ । धैर्यताको बाँध फुट्न लागे जस्तो भइरहेछ । टिलपिल टिलपिल ! उकुसमुकुस !

“ ओ के प्रकाश, म फर्किहाँले“ अँग्रेजीमै बोल्दै अर्को कोठातिर लागि । मलाइ अलिकति राहत अनुभूत भयो । लामो सास फेरेँ । कोठा भित्रबाट बाहिर उसको आवाज पहिले जस्तै चर्को र टड्कारो आइरहेछ । गानोमा मौरी झुम्मिए जस्तो गरि ठिटाहरु सबै त्यही झुम्मिएर बसेका छन् ।

मभित्र उत्सुकताको सगरमाथा ठडिन्छ । आफूलाई ती बुढा पहाडहरु जस्तै स्थिर, धैर्य, सहज र शान्त बनाउँदै म सोच्न थाले­ “यो केटी हो को ? यो केटी पक्कै नेपाली होइन । किन भने यो नेपाली बोल्दिन । होइन, नेपाली नभए नेपाली कसरी बुझ्छे त ? होइन, यो केटी नेपाली नै हो । कता कता लाग्छ यो क्यारेवियन वा ब्राजिलियन पनि हुन सक्छे ! हैन, बंगाली जस्ती पनि छे ! कालीकाली हिस्सी परेकी निक्कै राम्री । भारतको पश्चिम बंगालमा नेपाली भाषीको सरसंगतमा रहेका धेरै बंगालीहरु नेपाली बुझ्छन् तर बोल्न सक्दैनन् । यस्तै पनि त हुन सक्छ । आखिर उसले बोल्ने भाषासँग मेरो के सरोकार ? उसको पहिरनसँग मेरो के दरकार ? उसको चालचलन र हाउभाउप्रति मेरो के अधिकार ? उसको शरीरमा त उसैको अधिकार छ नि । म किन ? व्यर्थै उसका बारेमा म टेन्सन लिइरहेको छु । म आफूलाई सकारात्क र सहज बनाउने प्रयत्न गर्छु ।

केही क्षण अघि अर्कोतिर बटारिएको मुन्टो अहिले फेरि उतिर फर्किन थालेको छ । रिसाएका आँखा लालयित हुन थालेका छन् । मेरा आँखा तान्ने उसको रुपको त्यो गुरुत्वबल झन बढेको छ ।

“ तिमी ह्याण्डसम देखिन्छौ । ओ माई डियर ह्याण्डसम !“ अनि “तर प्रकाश तिमी सहज अनुभव गरिरहेका छैनौ ।“ अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो भत्रु भनेको प्रेमको सांकेतिक प्रस्ताव हो भत्रे सुनेको थिएँ । उसले केहीबेर अघि भनेका यी शब्द दोहोरिदै तेहेरिदै मेरा कानमा लगातार ठोक्किदै मनमा गुन्जिन थालेको छन् । उसको स्वरुपले आँखाको बाटो भएर हृदयमा डेरा जमाउन थालिसकेको छ । नजानिदो चालाले मभित्र चाहनाहरु चुलिदैछन् । उच्छवासका लघु आभाष मिश्रत उत्सुकताहरु मनमा वयल खेल्दैछन् । त्यो केटी मेरो छेउमा आएर बसिदिए हुन्थ्यो । मसँग कुरा गरिदिए हुन्थ्यो जस्तो लागेको छ । उमेरमा मभन्दा उ निक्कै कान्छी छे तर पनि यसले यस्तो कुरा यत्रो मान्छे सामु मालाई नै किन भनि ? प्रश्नको भीडभित्र मेरो मन हराउन थाल्छ ।

निक्कैबेर भयो म सोचिरहेको छु । उ मेरा सामु आएकी छैन ।

कि अब त्यो आउँदिन ? आइमाई मान्छे भनेको बगेको खोलो जस्तै हो फर्केर नआउन पनि सक्छन् । यौवनको अथाह भेल चाहनाको सागरमा गएर मिसिए पछि म किनाराको ढुंगो जस्तो टुलुटुलु हेरिमात्र रहेको हुन्छु । त्यसमा पनि अमेरिका ! केटी, काम र मौसमको भरोसा नभएको ठाउँ । कि त्यसले पनि मलाई कतै गवाँर र पाखे त सोचिन ? आखिर अँग्रेजी त अहिले फेसन नै भएको छ । उसँग त्यहाँ अरु धेरै ठीटाहरु अँग्रेजीमै बोलिरहेका थिए ।

निक्कै अघि बोस्टनको एउटा रेष्टुरेन्टमा काम गर्दाको सम्झनाले मष्तिष्कको पाना एकाएक पल्टायो । एक साना नेपाली भाइबाट गवाँर र पाखेको विशेषणले आभूशित हुनु पर्दाको दुःखानुभूतिले एकछिन अल्मल्यायो । भरखर अमेरिका छिरेर रेष्टुरेण्टमा काम गर्न थालेको मान्छे म । एक अमेरिकी ग्राहकले बोलेको कुरा राम्रोसँग नबुझ्दा र फर्काउन नसक्दा उनले मलाई त्यो विशेषणको दोसल्ला निसङ्कोच ओढाउँदै भनेका थिए “अँग्रेजी नबुझ्ने यस्ता गवाँर­पाखे किन अमेरिका आउनु ?“ मैले नसुने जस्तो गरिदिएँ बोल्नै परेको थिएन । अर्की एक नेपाली चेली थिइन काठमाण्डुकी नेवारकी छोरी । मान्छेले मान्छेलाई मान, सम्मान, आपमान जे गर्दा पनि कोही खुशी र कोही दुःखी त हुन्छन नै । मलाइ त्यो अपमानपूर्ण सम्मान दिँदा उनले नमीठो अनुहार लाएको देखिरहेको थिएँ, फिसिकक फोस्रो हाँसो हाँसेर पचाएँ । मनमनै भने­ “धन्यवाद भाइ । तिमीले मेरो कमजोरीको किलकिले समायौ ।“ प्रतिवाद गर्नु भन्दा नसुने जस्तो गर्न नै ठीक ठाने । अरु केही नेपालीहरु पनि थिए सबैले दाइ भनेर सम्मान गर्थे नजानेको सिकाउथे तर दरवारिया खान्दानको हूँ भत्रे ती फुच्चे त्यहाँ काम गर्ने हामी नेपालीमा सबैभन्दा कान्छा र होचा थिए भए पनि अरुलाई होच्याउनेमा सबैभन्दा अग्ला तिनै थिए । सबैले राजाराजा भन्थे आफूलाई राजै ठान्थे । मनले नभने पनि मूखले बेलाबेलामा म पनि भनिदिन्थे । कानाको देशको आँखा चिम्लनु लंगडाको देशमा खुट्टो खोच्याउनु भत्रे सम्झेर चुपचाप बस्थे ।

कतै यसले पनि मलाई यस्तै पो सोचि की ? मनको बाघले खान थाल्यो । उ हरेक शब्द अँग्रेजीमा बोलिरहेकी थिइ म हरेक शब्द नेपालीमा भनिरहेको थिएँ तर उसले जे सोधी त्यसको जवाफ त दिएकै छु नि । नबुझेको त हैन नि । हैन, यसले यस्तो सोचिन ! हैन, नसोचेको भए म छिट्टै आइहाले भनेर पल्लो कोठामा गएकी केटी उतै रमाएर किन बसी ? मनमा फेरि तर्क­वितर्कहरुको दोहोरिलत्ता चल्न थाल्यो । म बेलाबेलामा उतिर हेर्छु तर उ उतै रमाइरहेकी छे । मलाइ भने छटपटीले हुट्हुटी पार्न थालिसकेको छ । उ आइन भने के गर्ने ?

सोचेँ­ “म पनि मुर्खको भाँडो नै हुँ ।“ उसले मेरो त्यत्रो प्रशंसा गर्दा मैले त्यही अनुरुपको शाब्दिक वा प्रतिकात्म अभिव्यक्ति व्यक्त गर्न सकिन । सायद त्यसैले उ मबाट छनमै अलग्गिएकी होली गवाँर नै ठानेर ! एकै छिन्मा नजिक भइ, एकै छिन्मा टढा । यहीँका अमेरिकनहरु जस्तै ! हुन त मान्छेको मन र शिशा उस्तै हो भन्छन् सानो कुराले टुट्ने । के मैले यसालाई टुटाएँ त ? आखिर मलाई राम्रो नभन भत्रे मान्छे को छ यो संसारमा ? म मान्छे हुँ मलाई राम्रो भन, तिम्रो मनले खराब ठाने पनि भत्रे कुरा मैले किन विर्सेको ? मैले पनि क्षणिक भावुकता मिसिएको भए पनि उसले जस्तै प्रणयमिश्रत प्रेममय बोली बोलिदिएको भए के विग्रन्थ्यो ? मेरै प्रश्नको पहिरोमा म एकछिन पुरिन्छु । उसको कोमल हृदयलाई मेरो कठोर व्यवहार र रुष्ठ अनुहारले सायद चुडियो कि क्या हो ? मलाई फेरि मनको बाघले खेद्न थाल्छ । केही क्षण अघिसम्म आगो भएको मान्छे अहिले म पानी भएको छु । उ मेरो मनको तहमा तैरन थालेकी छे । भित्रभित्रै मभित्र केही हराए जस्तो भइरहेछ । मनले केही खोजे जस्तो भइरहेछ ।

केही बेर फेरि सोचेँ­ “हैन अमेरिकामा केटीमान्छेले केटामान्छेलाई यस्तो कुरा भत्रु सामान्य नै होला । भालुको मन खनिउ माथि जस्तो भएको होला मेरो मन !“
अर्को उपाय सोच्दै “ल म जानु पर्यो“ भनेर अली ठूलो स्वार बोले । मुखले बोलेँ मात्र तर मनले हिड्न चाहेको थिइँन । मात्र उसलाई म सुनाउन चाहन्थे र उसको प्रतिकृया बुझ्न चाहन्थे । सुत्रे वित्तिकै उ दौडेर आई । मेरो पाखुरा सामाउँदै कुर्सीमा बसाई र भनी­ “एकछिन् बस न !“ के खोज्छस् काना आँखा जस्तो भयो मलाई । मन फुरंग, मस्तिष्क हलुंगो भयो ।

“ मैले तिमीसँग कुरा गरिसकेकै छैन कहाँ जान लागेको अहिल्यै“ म मुस्कुक हाँसे मात्र ।

“ ए तिम्रो नाउँ के रे“ उसले फेरि मेरो नाउँ सोधी मैले बताएँ । उ अहिले पनि अँग्रेजीमै बोलिरहेकी छे । म मेरो मातृभाषा नेपालीमै बोलिरहेको छु ।
“ तिमी के काम गर्छौ ?“

“ म सानोतिनो स्टोरमा काम गर्छु ।“ मेरो जवाफ सुनेर निधार खुम्च्याउँदै हात फिजाउँदै घाँटी कव्रm्याउँदै उसले भनि­ “किन सारा नेपाली स्टोर, ग्यास स्टेशन र ईण्डियन रेष्टुरेन्टमा मात्र काम गर्ने? उसको बोली र हाउभावमा हेय भावको अमिलो गन्ध मिसिएको भान भयो मलाई । मैले स्पष्टिकरण दिइन । फेरि पनि भलाद्मी हाँसो मुसुक्क हाँसे ।

उसको अँग्रेजी बोलाईको लवजले लाग्छ यो अमेरिकन होइन । यो यहाँ जन्मेकी पनि होइन । यो यहाँ धेरै सानो उमेरमा आएकी पनि होइन । मेरो मस्तिकमा यो प्रश्नको लट्टु फनफनी घुमीरहेको छ । प्रश्नै प्रश्नको लामो सूचि तयार भै सकेको छ । उ मेरो एकदमै नजिक बसेकी छे । मान्छेको उपस्थिति पातलिदै छ । मभित्र कताकता असहजताको अनुभूति पनि भइरहेको छ । अचेतनाको आवरणभित्र लुकेको उसको बेलेबेलाको शसक्त चेतन स्पर्शको भाइरसले मेरो शरीर संव्रmमित गरिसेको छ । लोग्ने मान्छेको मन न हो आगो सामुन्नेको मैन जस्तो । भित्रभित्रै पग्लिसकेको छ ।

आफ्ना अवयवहरु ममाथि निसङ्कोच प्रक्षेपण गर्दे उ अब अमेरिकाका बारेमा महाभारत र नेपालीका अवस्थाका बारेमा बाह्रपुराण सुनाउन थाली । धेरै कुराहरु बताई अमेरिका बारेमा । मानौ म अमेरिका भरखर आएको छु । मैले केही जानेबुझेको देखेको छैन । म सर्तकतासाथ मेरो भलाद्मी पनलाई बचाउँदै होमा हो र ए, ए भन्दै टाउको मात्र हल्लाई रहेको छु । बेलाबेलामा मुसुक्क हाँस्दै त्यो महाभारतको कर्कश ध्वनी एककोहोरो सुनाउन वाध्य बनाउछु मेरा निरिह कानलाई । उसले नेपाल र नेपालीका बारेमा धेरै कुरा गरि तर ती धेरैमा धेरै नराम्रा मात्र गरि । यहाँबाट अब म फेरि उल्टो हुन थालेँ । पहिले सुरुमा उसले हात मिलाउँदाको अवस्थामा म विस्तारै फर्किन थाले । भित्रभित्रै विपरित दिशा तिर बग्न थाले । हावाहुण्डरी जस्तो कहिले पूर्वबाट । कहिले पश्चिमाबाट । छिन्छिनमा दिशा परिर्वनतन गर्दै छ मेरो मनले ।

फल रित्तिएको रूखलाई चराहरूले छोडे जस्तै अहिले ती ठिटाहरुको झुण्डलाई उसले त्यसरी नै छोडिदिइ जसरी केहीबेर अघि मलाइ छोडेकी थिई । मन भाँडिने र बाँडिने व्रmम जारी छ । फेरि बाँडियो । एक मनले अब यो केटीको फन्दाबाट उम्किनु नै वेश हुन्छ भत्रे ठाने । अर्को मनले हैन यसको बारेमा मैले जात्रै पर्छ भने । सोधेँ­ “हामीबीच धेरै कुरा भयो तर तपाइँको नाउँ थाह भएन ।”

“कसरी थाह हुन्छ त ? तिमीले अहिलेसम्म सोधेका छैनौ ।” उसको बाचाल जवाफले मलाई एकछिन् नाजवाफ बनायो । म फेरि मुसुक्क भलाद्मी हाँसो हाँसे । उसले आप्mनु नाउँ बताई । उसको नाउँ सुनेर फेरि म एकछिन अल्मलिएँ । यस्को नाउँ न हामी नेपालीसँग न भारतीयहरुसँग मिल्ने खालको छ ! म एकछिन् घोसेमुन्टो लाएर एककोहोरिएँ । म निक्कै होसियारी र सतर्कतासाथ उसालाई पढ्ने प्रयत्न अझै गर्दैछु । फेरि पुरानै कुरामा फर्नक चाहेँ र सोधेँ­ “स्यान्ड्रिया तपाइँको मातृभूमि कुन हो अर्थात कुन देशबाट आएकी ?” मलाइ विश्वास थियो यो केटी अमेरिकामा जन्मेकी चैं हैन ।

अनुहार खुम्च्याउँदै बताइ­ “नेपालबाट !” थोरै सोचेको तर धेरै नसोचेको उत्तर दिई उसले । दार्जिलिँगेहरु धेरै नखरा पार्छन भत्रे सुनेको थिएँ । उतैकी होली भत्रे थोरै अनुमान थियो तर सबै दार्जिलिँगे त्यस्ता छैनन्, ज्यादै भलाद्मी र असल पनि छन् ।

नेपालबाट भन्दा खुशी हुनु पर्ने तर मभित्र एउटा दुःखको पहाड उचालिएर ज्वालामुखी फुट्ला जस्तो भयो । आफूलाई आफैभित्र काबुमा राख्दै फेरि सोधेँ­ “के काम गर्नुहुन्छ ?” आँखी भौं तन्काउँदै अनुहारमा गर्वको अनुभूति झल्काउँदै अलि उच्च स्वरमा भनि­ “अमेरिकनको बच्चा हेर्छु ।” मानौ अमेरिकनको बच्चा अप्सराले मात्र हेर्छन् ।

आफूलाई अझै सामन्य बनाउँदै सोधेँ ­ “कति भयो अमेरिका आएको ?”

नजरका छड्के तीर मेरा निर्दोष आँखा तिर तेस्याउँदै सहज जवाफ दिइ­ “सात वर्ष !” उसको त्यो सात वर्ष भत्रे जवाफ मेरो मुटुमा सात तीर भएर रोपिए जस्तो भयो । सात वर्षमा यस्तो ?

विनम्रता साथ फेरि सोधेँ­ “अहिले तपाइँ कति वर्षकी हुनु भयो ?”

“चौविस ।”यो सबै उसले अँग्रेजीमै बताइरहेकी छे । एकछिन फेरि चुपचाप बसेँ आँखा चिम्लिएँ । भगवान सम्झिएँ ।

“प्रकाश के भयो ?” आश्चार्यवोधक बोली बोली ।

“खासै केही हैन ।” मभित्रको असहजतालाई थिच्दै सहज जवाफ दिएँ । के सोचेको भन्दै मेरो हत्केला तानी । कताकता झस्किए जस्तो भए पनि फेरि मुसुक्क मुस्कुराउँदै भने­ “केही हैन ।” मनमा फुलेको उच्छवासको फूलमा पराग बनेर बसेको उप्रतिको प्रेमरागको रस अब सुकिसेको छ, फिक्क भै सकेको छ । मानौ म रिठ्ठो भै सकेको छु । अन्तरमनमा सुकिसकेको छु ।

“मलाई त म्याराथन मन पर्छ । तिमीलाई कुन खेल मन पर्छ ?” एकाएक उसले एक पागल प्रश्न गरि । आकासको कुरा पाताल पुर्याए जस्तो लाग्यो मलाई । उसले किन एकाएक यो कुरा सोधी भित्रभित्रै म आफैलाई सोध्न थाले ।

“मेरो प्रश्नको जवाफ किन नदिएको ?” फेरि मलाई घचघच्याई ।

मैले भने­ “बुझिन ।” यो कुनै चाखलाग्दो र उत्तेजनात्मक खेल पनि होइन तै पनि म्याराथन मन पर्नुको कारण के हो ?”

त्यतिबेलासम्म त्यहाँ उ र म मात्र छौ । प्राय सबै आ­आप्mनो गन्तव्यतिर लागिसकेका छन् । पल्लो कोठामा केही मान्छे गफ गरिरहेका छन् आ­आप्mनै धुनमा ।
“म्याराथन धावक भनेका लामा दुरीका धावक हुन् । तिनमा स्टेमिना ज्यादा हुन्छ । लोग्नेमान्छेमा स्टेमिना हुन जरुरी छ माइ डियर जरुरी छ । सेक्स फिलोसफी पढ त्यसबाट थाह हुन्छ । म्याराथनका खेलाडी अलि पाका र छिप्पिएका हुन्छन् थाह छ, मलाई यस्तै लोग्नेमान्छे मन पर्छ ।” यो सुनेर मैले उसलाई यसपटक तलदेखि माथिसम्म आरामले हेरेँ । म उसलाई पढ्न खोजीरहेको छु तर अब झन् अल्मलिएँ । उ मेरालागि झन क्लिष्ट, झन् गुढ र झन् रहस्य बन्दै गई । एउटा अवोधगम्य महाकाव्य जस्तो । उसँग आँखा जुधाउने प्रयत्न गरेँ सकिन । मसँग कुरा गर्दा गर्दै उसले निक्कै वाइन पनि पिइसकेकी छे ।

” अनि तपाइँको खास नाउँ के हो बताउन मिल्छ ?” विनम्रतापूर्वक सोधेँ ।

उसको अनुहार एकाएक फूलजस्तै फक्रियो । आँखा सन्काउँदै टाउको हल्लाउँदै भनि­ “मिल्छ माइ डियर ! तिमीलाई सबै कुरा बताउन मिल्छ । नेपालको मेरो नाउँ शारदादेवी हो तर मलाई यो नाउँ मन पर्दैन । त्यसैले मैले आफूलाई स्यान्ड्रिया बनाएँ । ओ प्लिज ! मलाई तपाइँ नभन । तिमी भन ।” एकै सासमा बोली ।
मभित्र भुतभुते खनिए जस्तो भयो र पनि मनमनै हाँसेँ । मनको हाँसो सायद मेरो अनुहारमा फेरि कताकता पोतियो होला ! उसले अनुमान लाउँदै भनि­ “तिमीलाई मेरो कुरा मन पर्यो र त तिम्रो अनुहार हँसिलो भयो ।” म केही बोलिन ।

फेरि सोधेँ­ “अनि किन अँग्रेजीमात्र बोल्नु भएको ?”

मेरो हात समाउँदै अँग्रेजीमै जवाफ दिइ­ “सरी, मैले नेपाली सबै विर्सिएँ !”

जवाफ सुनेर म एकाएक छाँगाबाट खसे जस्तो भएँ । तातो झिरले घोचे जस्तो घोच्यो मेरो मुटु उसको यो अन्तिम वाक्यले । यसले सात वर्षमा आफ्नो मातृभाषा विर्सिइ भने यसले आफ्ना मातापिता पनि विर्सिइ । दाजुभाइ, दिदीबहिनी, नातागोता, इष्टमित्र, साथीसंगत, गाउँठाउँ थाँतथलो, रस्तीबस्ती सबै विर्सिइ ! अर्काको देशमा शरणार्थी जस्तो बसेर आप्mनो मातृभूमिको खिल्ली उडाउने कुरा बाहेक यसले सबै बिर्सिइ, सबैलाई बिर्सिइ ! नराम्रा बाहेका राम्रा सबै विर्सिइ । महिनौ कोखमा बास दिने र धरतीमा पहिलो पाइला टेक्न साहस दिने ती माता र मातृभूमिलाई सात वर्षमा विर्सनेले मलाई त सात मिनेटमा विर्सन्छे । सायद यसले मलाइ सात मिनेटका लागि धावाक चुत्र खोजेको हो !

सृष्टि विधाको अनुपम सृजनाको स्वरुप नारी, त्याग र तपस्याकी प्रतिरुप नारी, उत्सर्गको उपमा नारी, प्रेमको आधार र स्रोत नारी , सभ्यताको सर्जक नारी, शुशिलताको सम्बाहक नारी, सौम्यताको साधक नारी ! त्यो नारीको श्रद्धा, सुधा, शक्ति, लज्जा, दया, मायाँ, छाँया, दातृ, भातृ र मातृरुपका ती सुन्दर स्वरुप सम्झेँ । अनि त्यही नारीको यो विरुपमय विभत्स रुप ! यो कल्कीरुप ! त्यही नारीको कल्की अवतार मेरा सामु अवतरित भए जस्तो भयो ।

म जुरुक्क उठेँ र भने­ “मिस शारदादेवी उर्फ स्यान्ड्रिया तिमीले सोचे जस्तो म्याराथन धावक म नहुन सक्छु ” ! म हिड्न थालेँ उ निधार गाँठौ पार्दै अँग्रेजीमै “फ…फ… नेपाली” उच्चारण गर्दै थिई, म हिडेको हिड्यै भएँ ।

अहिले त्यही स्यान्ड्रिया शाम्भवीजस्तै सम्झिरहनु नपर्ने गरी मेरो मस्तिष्कमा सधैं नाचिरहेकी छे ।

जून १४, २०११ बोस्टन, अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.