एमालेको आन्तरिक एकताको चर्चा र त्यसको महत्व

 


नेपाली राजनीतिक वृतमा अहिले एमालेको आन्तरिक एकताको चर्चा जोड-तोडले चलेको छ l संबिधान सभाको गणितमा विभिन्न कारणले गर्दा तेस्रो बन्न पुगेको भएता पनि नेपालको राजनीतिको प्रमुख शक्तिको रुपमा रहेको पार्टी भएको हुनाले त्यस पार्टीका गतिविधिलाई चासोका साथ हेरिनुलाइ स्वभाविकनै मान्न पर्छ l नेपालका राजनैतिक पार्टीहरुमा विग्रहको शृंखलानै चलेको अवस्थामा एमालेको आन्तरिक एकताको चर्चाले सर्वसाधारण जनतामा पनि चासो र उत्सुकता जगाएको छ l शान्ति र लोकतन्त्रप्रती प्रतिवद्ध पार्टी आन्तरिक रुपमा एकीकृत हुनु अत्यन्त आवस्यक र उल्लासपूर्ण कदम हो त्यसैले त्यसलाई नकारात्मक ढंगले वा नकारात्मक कोणबाट हेरिनु र प्रचार नगरिनुपर्थ्यो तर बिडम्वनानै मान्नुपर्छ अखबारका पानाहरुलाई नियाल्ने हो भने एमाले आन्तरिक एकताको सम्भावित सकारात्मक परिणामलाई भन्दा पनि अनुमानित एकताका आधारहरुलाई चर्चामा ल्याउने खोजिएको आभाष हुन्छ l अन्योल र अस्थिरताको बिचमा जकडिएको नेपालको राजनीतिक वर्तमान हो भने चर्चामा आएजस्तै एमाले आन्तरिक रुपमा एकीकृत हुनसक्दा नेपालको राजनीति धेरै हिसाबले सकारात्मकताको बाटोमा अगाडी बढ्न सक्छ त्यो परिक्षण हुनासाथ प्रमाणित हुने यथार्थ हो तसर्थ एमाले आन्तरिक एकताको चर्चा, त्यसको आवश्यकता र चुनौतीका बारेमा चर्चा सान्दर्भिक हुनेछ l

मदन भण्डारीले प्रतिपादित गरेको जनताको बहुदलीय जनवाद मार्फत प्रतिस्पर्धी राजनीतिलाइ स्वीकार्दै आफुलाई लोकतान्त्रिक पार्टी बनाउन सफल एमालेले तत्पश्चात थुप्रै उथल-पुथल पार गरिसकेको छ l २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पश्चातको निर्वाचनमा एमालेले ६८ वटा निर्वाचन क्षेत्रमा विजय प्राप्त गरेको थियो l एमालेको आंकडा खोतल्ने हो भने त्यतिबेला एमालेको संगठित सदस्य संख्या ११०० को हाराहारी मात्रै भएको बुझिन्छ l ११०० संगठित सदस्यहरुको अथक परिश्रम, मदन भण्डारी जस्तो प्रखर वक्ताको क्षमता अनि मनोमोहन अधीकारी जस्ता सुझवुझपूर्ण नेताहरु भएको तत्कालिन एमाले नेतृत्वले जनतामा छोटो समयमै अत्यन्त प्रभाव छोडेको थियो जसको कारणले एमालेले बिभिन्न खालका भ्रमलाई चिर्दै आफुलाई दोस्रो ठुलो पार्टी बनाउन सफल भएको थियो l २०४८ सालको निर्वाचनमा तत्कालिन प्रधानमन्त्री सन्त नेता कृष्ण प्रसाद भट्टराईलाइ पराजित गर्न सफल नेता मदन भण्डारी ,२०५० सालको जेष्ठमा अकल्पनीय र अपत्यारिलो मृत्यु भोग्न बाध्य भए l प्रखर वक्ता , सिद्धान्त प्रतिपादक एवं लोकप्रिय नेताको निधनले एमालेलाई कम्जोर पार्छ भन्ने धेरैको अनुमान थियो तर भण्डारीको निधनको केहि समय पश्चात सम्पन्न मध्यावधि निर्वाचनमा एमाले संसद्को सबै भन्दा ठुलो दल बन्न पुग्यो l नेपालको राजनीतिमा इमान , नैतिकताको उदहारण छोड्न सफल स्वर्गीय मनोमोहन अधिकारी एमालेको तर्फवाट २०५१ सालमा प्रधानमन्त्री भएका थिए l नेपालको इतिहासकै अत्यन्त लोकप्रिय सफल हुन उक्त सरकार सफल रह्यो l उक्त सरकारमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री माधव नेपालले त्यतिबेलै आफ्नो सरकार संचालन क्षमताको उदहारण दिन सफल भएका थिए भने उक्त सरकारका गृह मन्त्री के.पी .ओली ,संचार मन्त्री प्रदिप नेपाल अहिले पनि ती मन्त्रालयहरुको सफल मन्त्रीहरुको सुचिमा अग्रपंक्तिमा गणना हुनेगरेका छन l बृद्धहरुलाई भत्ता,आफ्नो गाउँ आफैं बनाउ जस्तो कार्यक्रमको कारण एमालेका पाका नेता भरतमोहन अधिकारीले जीवनको सर्वाधिक इज्जत त्यही सरकारको अर्थमन्त्री हुदा आर्जन गरेका थिए भन्दा अन्यथा हुनेछैन l एमालेको तत्कालिन सरकारको बढ्दो जनसमर्थनले बिरोधि पार्टीहरुलाई चिन्तित बनाउनु स्वभाविक थियो र स्वभाविक थियो कसैको बहुमत नभएको प्रतिनिधिसभाको तत्कालिन अवस्थामा एमाले बिरोधि गठबन्धनको l अन्तत एमालेको सरकार ढाल्न कांग्रेसले बाकी सबैसंग हातेमालो गर्यो र नौ महिनाको छोटो अवधिमै एमाले सरकार ढल्न पुग्यो यद्धपि एमालेको तत्कालिन सरकार ढल्नु सामान्य संसदीय अभ्यासमा मात्रै सिमित हुनसकेन l एमालेको सरकार ढलेपछि थुप्रै सरकारहरु बने ,थुप्रैमा एमाले पनि सहभागी भयो तर एमालेको तत्कालिन अल्पमत सरकारको बिगठन पश्चातनै प्रारम्भ हुन पुग्यो नेपालको राजनीतिमा उग्रपन्थ र प्रतिगमनको उदय l

२०५२ सालमा एमाले सरकार ढलेपछि हतियारको राजनीति थाल्न बहाना खोजिरहेको माओवादी उग्रवादले बहाना पायो l संसदीय व्यवस्था काम नलाग्ने व्यवस्था हो भन्दै आएको माओवादीको निम्ति जनताको व्यापक समर्थनको बाबजूद एमाले सरकार ढल्नु आफ्नो हिंसात्मक सोचलाई कार्वानयन गर्न जनसमर्थन प्राप्त गर्ने आधार बन्न पुग्यो l एमाले सरकार ढलेको केहि समयपश्चातनै माओवादीले कथित् जनयुद्ध थालनी गरे,जसको चपेटामा परेर आजको मिति सम्म आइपुग्दा १६,००० भन्दा बढी नागरिकको ज्यान गइ सकेको छ l माओवादीको कथित् जनयुद्धको नाममा चलेको युद्ध र प्रतिनिधिसभामा कसैको बहुमत नभएकोले चलेको सरकार बनाउने / बिगार्ने खेलले प्रतिगामीहरुलाई प्रजातन्त्रको बिरुद्धमा भ्रम छर्न राम्रै आधार दिएको थियो l २०५१ मा बनेको अल्पमतको सरकार पश्चात एमालेले २०५४ मा पुन गठबन्धन सरकारमा सहभागीता जनायो ,पंच नेता लोकेन्द्र चन्दलाई प्रधानमन्त्री बनाउदै गरिएको सत्ता साझेदारीले बामदेव गौतम लगायतका केहि नेताको पहिचान त अलिक फराकिलो बनायो तर एमालेप्रति जनतामा बढ्दै गएको सम्मानलाई अस्थिर बनायो l यसका साथसाथै यो सरकार गठनसंगै एमाले पंक्तिमा महत्वकान्क्षा समेत बढायो l सत्ता सहभागिताले जन्माएको महत्वकान्क्षा र अनावश्यक प्रतिपस्पर्धा अनि एमाले कम्जोर पार्ने वाहिरी खेलको संगमले आम निर्वाचन पूर्व नै एमाले फुट्न पुग्यो l एमालेको बिभाजनले सत्ताको प्रवल दावेदार एमालेलाई संसदमा दोस्रो ठुलोदलमा सिमित बनायो यद्धपि फुटको वावजुदको त्यो उपलव्धि एमालेका निम्ति सामान्य उपलब्धिमात्रै पक्कै थिएन l तत्कालिन अवस्थामा एमाले महासचिब माधब नेपालको कडा परिश्रम,के.पी ओली ,प्रदिप नेपाल लगाएतका नेताहरुको यथार्थपरक एवं कडा मन्तव्यहरुले एमालेलाई विभाजनको प्रभाव कम गर्न मद्दत गरेको लुकाउन नमिल्ने सत्य हो भने एमाले बिभाजनले कांग्रेसलाई सरकार बनाउने अवसर र कछुवा गतिमा चलिरहेको माओवादीको कथित जनयुद्धले थुप्रै उर्जावान कार्यकर्ता पाएको उत्तिकै सत्य हो l २०५६ सालको निर्वाचनबाट नेपाली कांग्रेसले पुन एकपटक बहुमतको सरकार बनाउने अवसर प्राप्त गरेको थियो तर राजनीतिक अवस्था भने अत्यन्त बदलिएको थियो l प्रजातन्त्र मास्न चाहने प्रतिगामीहरु अत्यन्त चलायमान थिए, संसदीय प्रजातन्त्रले जनताको हित गर्दैन भन्दै माओवादीहरु गाउँ-गाउँमा रक्तपात मच्चाउदै थिए अनि प्रजातन्त्र र संसदीय व्यवस्था पक्षधर नेपाली कांग्रेस र एमाले जस्ता पार्टीहरु सत्ता लालसाका कारण आफैंमा समस्या खोज्न व्यस्त थिए l माओवादी आतंक ,दरबारिया प्रतिगामीको चलखेल ,कांग्रेस-एमालेको अनावश्यक प्रतिस्पर्धा अनि यी सबैले गर्दा जनतामा पलाएको निराशाको जगमा २०५९ असोज १८ गते, २०५८ जेष्ठ १९को दरबार काण्ड पश्चात अनायस राजा भएका ज्ञानेन्द्रले प्रजातन्त्रको गला घोटेर निरङ्कुश शासनको थालनी गरे l राजाको कदमले सबैलाई शिक्षा दियो फुटेको एमाले पुन मिल्यो,राजाका खिलाफ देशव्यापी आन्दोलन भयो ,राजा एक कदम पछाडी हटेर ४ कदम अगाडी बढ्ने दाउमा थिए l आफुले बर्खास्त गरेका प्रधानमन्त्री शेर बहादुर देउवालाइ पुनर्वहाली गर्न राजा तयार हुनुलाई एमालेले सकारात्मक रुपमा लियो l एमालेको इतिहासमा एमालेले एक पटक नजानेरै भएपनि गल्ति गर्यो ,पुनर्वहाली गरिएका भनिएका शेर बहादुर देउवाको सरकारमा साझेदारी एमालेलाई तब महँगो पर्यो जब राजा ज्ञानेन्द्रले उक्त सरकारलाई बर्खास्त गरेर शासन आफ्नो हातमा लिए किनकि जनतालाई एमाले सत्तामुखी भएको भान पर्यो l राजाको प्रतिगामी कदमले जनतालाई दुख सास्ती बढ्दै गएपछि गणतन्त्रको स्थापना हुनुपर्ने ऐतिहासिक निर्णय गरेर एमालेले पुन एकपटक जनताको पार्टीको रुपमा आफुलाई स्थापित गरेर देखायो l शान्तिपूर्ण जनान्दोलनमा एमालेले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्यो,आन्दोलनका शहिद र घाइतेहरुको सुचिमा एमालेकै कार्यकर्ताको नाम सर्वाधिक संख्यामा हुनुलेनै एमालेको भूमिकाको बयान गर्दछ l माओवादीलाई शान्तिपूर्ण राजनतिको निम्ति लिखित रुपमा सहमत गराउन एमालेले खेलेको भूमिका सबैसामु छर्लंङ छ l त्यति मात्रै हैन माओवादी शान्ति स्थापनामा इमान्दार भएर आउने आशामा एमालेले पुनर्गठित संसदमा माओवादीलाई आफु सरहको संख्या दिने आत्मघाती निर्णयमा समेत सहभागी जनायो भने डर, त्राश र आतंकका बिचमा सम्पन्न भएको संबिधान सभालाई पनि कुनै बिरोध बिनानै मान्यता दियो l माओवादीको पटक-पटकको धोकाधडी वावजूद पनि संबिधानसभा निर्वाचन पश्चात माओवादीलाई पहिलो सरकार बनाउन साथ दिएर एमालेले जनमतको सम्मान गरेको थियो l

माथिको उल्लेखित घटनाक्रमले एमालेमा नकारात्मक हैन सकारात्मकता ज्यादा भएको स्पष्ट पार्दछ यद्धपि सकारात्मकताको वावजुद एमाले संबिधान सभाको गणितमा तेस्रो स्थानमा बस्न बाध्य छ l इमान्दार, लगनशील र जुझारु कार्यकर्ताको पंक्ति, नेपालको समकालीन राजनीतिक नेताहरु मध्ये सबैभन्दा धेरै सरल जीवनसैली बिताउने नेताहरुको पंक्ति ,मुलुकको राजनीतिलाई अग्रगमनतर्फ बढाउने निर्णय लिन सधै अगाडी भएको इतिहास त्यसको वावजुद खस्कदो भूमिका र आफ्नो सुगन्ध खोज्न भौतारिरहेको कस्तुरी जस्तो चित्र देखिनुमा एमालेको आन्तरिक एकताको अवाभावनै मुख्य कारक हो भन्दा अन्यथा हुनेछैन l आन्तरिक रुपमा एकीकृत हुनासाथ एमाले पुन एकपटक निर्विकल्प प्रमुख शक्ति बन्ने कारणले अहिले सबै एमालेको आन्तरिक एकतालाई निस्कर्षमा पुग्नु भन्दा अगाडिनै ठहरावमा पुर्याउने व्यस्त देखिन्छन l अहिले एमाले अन्तरिक एकताको नकारात्मक सोचका साथ चर्चा गर्नेले के.पी .ओली सभासद हुनचाहेको र त्यसैको निम्ति एकता होकी ? भन्ने ढंगले चर्चा चलाइरहेका छन अनि माधव नेपाल जसले के.पी ओलीलाई आज भन्दा महिनौ अगाडी सभासद प्रस्ताब गरे उनीनै उक्त सम्भावनाको बिरोधि रहेको चर्चा पनि गर्ने गरेको सुनिन्छ l हुन त हाम्रो राजनीतिमा हुदै नभएका हल्ला चलाएर अभिष्ट पुरागर्ने परम्परा पुरानै हो त्यसको राम्रो उदहारण त स्वयम माधव नेपाल आफैं छन l राजा भएकै दिनदेखि ज्ञानेन्द्रले मननपराएको व्यक्ति माधव नेपाल ,जसलाई राजाले आन्दोलनकारी दलको सिफारिश बाबजुद राजाले प्रधानमन्त्री बनाएनन उनलाई राजतन्त्र टिकाउन लागेको व्यक्ति भनेर भनियो, गणतन्त्र बिरोधि भनियो l जो जे हैन त्यसलाई त्यही भनिदिने परम्पराको सिकार अहिले के.पी ओलीलाई बनाउन खोजेको प्रष्टै देखिन्छ l के.पी ओली सभासद छैनन तर जतासुकैबाट पनि छिर्न मिल्ने वर्तमान संबिधानसभामा चाहेको भए के.पी.ओली धेरै पहिला छिर्न सक्थे भन्ने सामान्य नागरिकलाई पनि थाह छ l लोकतन्त्र ,शान्ति र विधिको शासनको पक्षमा जस्तोसुकै अवस्था हुदा पनि डटेर लाग्ने ओली संबिधानसभामा हुनु मुलुकको हितमा हुनेछ यद्धपि के.पी.ओली सजिलै संबिधानसभामा गैदेलान भनेर ठान्नु मुर्खता मात्रै हुनेछ किनकि ओलीलाई संबिधानसभामा लान गिरिजा प्रसाद कोइराला ,माधव नेपाल लगाएत थुप्रैले कोसिस गरेको इतिहास साक्षि छ l त्यति मात्रै हैन संबिधानसभा म्याद थपको निम्ति छट्पट गरिरहेको अवस्थामा म्याद थपको निर्णय गराउने ओलीले चाहेको भए स्वयम माओवादी अध्यक्ष प्रचन्डले पनि ओलीलाई इन्कार गर्ने थिएनन भन्ने बुझ्न गारो छैन l

एमालेका नेताहरु मध्ये अधिकांश नेताहरुको आर्थिक इमान्दारिताप्रति कसैले प्रश्न उठाउन सक्दैनन, एमालेको अधिकांश निर्णयहरु लोकतान्त्रिक व्यवस्था निम्ति, शान्त समाजका निम्ति मार्गनिर्देशक सावित भएका छन l आतंकको खिलाफमा , प्रतिगमनका खिलाफमा एमालेले आफुलाई सदा उभ्याएको छ ,जनताको हित हुने अवस्थामा आफुलाई ,आफ्नो आन र शानलाई धक्का पुग्दासमेत सहेर सालिनता देखाएको छ , विश्व समुदायसामु पनि एउटा विश्वसनीय लोकतान्त्रिक शक्तिको रुपमा चिनाउन सफल भएको छ तर अघि माथि चर्चा भएजस्तै आफ्नै आन्तरिक एकता मजबूत पार्न नसक्दा कता-कता हराएको छ जसले गर्दा हामी जस्ता सर्वसाधारण जनता राजनीतिक अस्थिरता र अन्योल सहन बाध्य भएका छन l अहिले चलेको आन्तरिक एकताको चर्चाले एमाले पंक्तिमा त पक्कै उत्साह ल्याएको हुनुपर्छ सर्वसाधारण जनतामा समेत अब केहि हुन्छ कि भन्ने आशा पलाएको छ किनकि जनतालाई थाहाछ एकतावद्ध एमाले नेपालको राजनीतिक समस्या समाधानको पहिलो खुट्किलो हो l जनताको आशालाई उत्साहमा बदल्न एमालेको नेता-कार्यकर्ता पंक्ति आन्तरिक एकतालाई मजबुत बनाउने अभियानमा अझै डटेर लाग्नु अहिलेको आवश्यकता हो र त्यो अभियान हिजोको रिस पोख्न बहाना खोज्ने , तथ्यहिन प्रचार गराउने वा कोहि कसैलाई एक्ल्याउने सोच कायम राखेर सफल हुदैन l त्यो त्यतिबेला सफल हुन्छ जतिबेला सबै एमालेहरूलाई एकीकृत एमाले बनाएर सत्ताको दावेदार बनाउदा सबै मालिक भइन्छ नत्र सत्ता सहभागिताको निम्ति अर्काको मुख ताक्ने प्रवृतिले कहिले कसैलाई प्रधानमन्त्री त कहिले मन्त्रीपद दिलाउला तर इज्जत दिलाउदैन भन्ने आत्मा ज्ञान हुन्छ l सबै खालका भ्रमलाई चिर्दै मन बचन र कर्मले एमाले एकतावद्ध हुनसकोस भन्ने शुभकामना l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

travelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   -  नेपालमदर डट कम  -    ग्लोब नेपाल डट कमहिमाल खबर  -    ई-कान्तिपुर  -    नेपालन्यूज -   गोरखापत्र  -    दि हिमालायन टाईम्स -    नयाँ पत्रिका -    राजधानी  -    नागरिक  दैनिक  -    रिपब्लिका -   कारोबारदैनिकी  -    न्यूज अफ नेपाल -   नेपाल जापान  -    फ्रि नेपाल  -   डामाडोल  -   प्रदेशलाइफ  -  एचके नेपाल -  हेलोनेपालकोरिया  -   ब्रुसेल नेपाल  -   हाम्रो समाज  -   फ्रान्स नेपाल  -   नेपाल ब्रिटेन  -   नेपाली न्युज युएस्ए  -   नेपाल अरब  -   नेपाल कुवेत  -   नेपाल दुबई  -   नेपाली सन्देश  -   एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.