काठमाडौं, फागुन १० – संविधान निर्माणका लागि आन्तरिक रुपमा बनाइएको कार्यतालिका पनि प्रभावित भएको छ । संविधानसभाको कार्यव्यवस्था परामर्श समितिले सबै विवादीत विषयमा सहमति खोज्न सवैधानिक समितिलाई बुधबारसम्मको समय दिएको थियो । दलहरु आ-आफ्नै अडानमा रहेपछि आन्तरिक कार्यतालिका प्रभावित भएको हो । सहमति खोज्न तीन दलको शीर्ष नेता बिहीबार मात्रै बैठक बस्ने निर्णय गरेका छन् । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले विवाद समाधानमा दलहरु गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । बिहीबार बस्ने मुख्य तीन दलका शीर्ष नेताहरुको बैठकले संविधान निर्माणका विषयमा ठोस सहमति गर्ने आशा राख्दै आचार्यले खासगरी एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले जिम्मेवार हुनुपर्ने बताउनु भयो । राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली लगायतका विषयमा दलहरुबीच सहमति नहुँदा संविधान निर्माणको काम अवरुद्ध छ ।
सम्बन्धित समाचार







