माघ २९ – चर्चित अमेरिकी पप गायिका तथा अभिनेत्री विटनी ह्यूस्टनको ४८ वर्षको उमेरमा निधन भएको छ । विट्नीका प्रवक्ताले समाचार संस्था एपीलाई उनको निधनबारे जानकारी गराएका थिए ।उनका प्रवक्ताले एपीलाई बताए अनुसार उनी क्यालिफोर्नियाको एक होटलमा मृत भेटिएकी हुन् । त्यसलगत्तै विटनीको निधन भएको उनको परिवारले पुष्टि गरेको थियो । उनको निधनको कारण भने सार्वजनिक गरिएको छैन ।
स्थानीय प्रहरीले उनको मृत्यु कुनै आपराधिक कारणले भएको भन्ने कुनै संकेत नभएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको नाम सबैभन्दा बढी पुरस्कारहरु पाउने कलाकारका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा लेखिएको छ । उनले ‘बडिगार्ड’ नामक चलचित्रबाट अभिनय समेत थालनी गरेकी थिइन् । सन् १९९० को दशकमा उनी सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा थिइन् ।
पछिल्लो समय उनी नशालु पदार्थमा डुब्ने गरेको उनले अन्तर्वार्ताहरुमा बताएकी थिइन् । वैवाहिक जीवनपछि गायक बबी ब्राउनसँग भएको किचलोका कारण उनी पछिल्लो समय नशामा डुबेकी थिइन् ।
स्रोत: -एजेन्सीहरु







