विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक वैठकमा भाग लिन नेपाली प्रतिनिधि मंडलको नेतृत्व गर्दै नेपाल सरकारका वर्तमान अर्थमन्त्री वर्षमान पुन वाशिङटन डिसी आईपुग्नु भएको थियो । प्रस्तुत छ वांहा डिसीमा भएको बेला नेपाल मिडिया क्याफेसंग भएको कुराकानीको सार संक्षेप l
तपाईको अहिलेको अमेरिकी भ्रमण पूरा भएको छ, भ्रमणवाट नेपालका लागि कस्तो उपलब्धी हासिल गर्नुभयो ?
यो नियमित वैठक हो । त्यसकारण यसवाट जे उपलब्ध होलान भन्ने हाम्रो अपेक्षा थियो त्यस अनुरुप नै हामीले पायौं ।
तोकेरै भन्नु पर्दा ति उपलब्धीहरु के के हुन ?
हामीले हाम्रा धारणाहरु, प्राथमिकताहरु र आवश्यकताहरुका वारेमा प्रष्टसंग कुरा राख्यौ । वांहाहरुले पनि हाम्रा प्राथमिकता वारे बुझ्ने अवसर पाउनुभयो ।
तपाईले राखेका आवश्यकता र प्राथमिकता के थिए ?
दातृ निकायले लामो समयदेखि नेपाललाई सहयोग गरिरहेका भएपनि त्यो सहयोग छरिएका कारण देखिने गरि उपलब्धी आउन नसकी रहेको यथार्थ हो । हामीले नेपाललाई हुने सहयोगमा देखिने गरि ठूला खाले विकासका कार्यक्रममा सहयोग गर्न अनुरोध गर्यौ । जलविद्युत, सडक जस्ता ठूला खाले विकासका पुर्वाधारहरुमा सहायता केन्द्रित गर्न हामीले आग्रह गर्यौ । र वांहाहरुवाट पनि सकारात्मक अभिव्यक्ति पनि पाएका छौ ।
तपाईले सकारात्मक अभिव्यक्ति पाएको भन्नुभयो यो अभिव्यक्ति मात्र हो वा हातमा पनि केहि पर्यो ?
वांहाहरुले सकारात्मक रुपमा लिनुभएको छ । विश्व बैंकले नेपाल भारत सिमापार प्रसारण लाईन निर्माणमा सहयोग गर्ने भएको छ । अरु सहयोग हुदै जानेछ ।
भ्रमणमा रहदा अमेरिकी अधिकारीहरुसंग पनि भेटघाट गर्नुभयो ?
स्टेट डिपार्टमेन्ट र ट्रेजरी डिपार्टमेन्टका डेपुटी सेक्रेटरीहरुसंग भेटघाट भयो ।
तपाईहरुप्रति वांहाहरुको धारण के पाउनु भयो ?
हामीप्रति वांहाहरुको कुनै रिजर्भेसन देखेनौ । नेपालको वर्तमान सरकारले शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन प्रतिवद्ध भएको जानकारी गरायौ । हाम्रो सरकारले अन्तराष्ट्रिय समुदायवाट ठूलो आशा राखेको र अन्तराष्ट्रिय समुदायले पनि यस सरकारवाट ठूलो आशा नै राखेको पांए ।
यि त भए भ्रमणका कुरा, नेपालकै वर्तमान आर्थिक अवस्था चाहिं कस्तो छ ?
अत्यास लाग्दौ नै छैन । राम्रो नै देखिन्छ । एसियाको आर्थिक वृद्धिदर ४% का हाराहारीमा भएको वेला नेपालले पनि त्यसलाई हासिल गरिरहेको छ । मुल्य वृद्धि दर एकल अङ्कमा छ । वैदेशिक मुद्राको संचितिलाई हेर्दा अहिले करिव २८० अर्व रुपैया वरावर छ जसले साडे सात महिनाको वस्तु र सेवाको पैठारिलाई धान्न सक्छ । प्रत्येक बैंकसंग अतिरिक्त तरलता २३ अर्व छ । यसलाई हेर्दा सकारात्मक अवस्था देखिन्छ । यस्तो भएको ईतिहासमा पहिलो पल्ट रहेछ, पहिले कहिल्यै भएको रहेनछ ।
तपाईहरु त सरकार सम्हाल्न भर्खरै आईपुग्नु भएको हो । यसको मतलव यो अवस्था यो भन्दा अघिल्ला सरकारहरुले निमार्ण गरिदिएको हो, होईन त ?
निश्चय नै, यसका लागि अघिल्ला सरकार र अर्थमन्त्रीहरुलाई हामीले धन्यवाद दिनै पर्छ l हामी यसलाई अझ मजवुत बनाएर लैजाने कोशीसमा रहने छौ ।
तपाइँ वर्तमान सरकारको अर्थमन्त्री हुनुहुन्छ । वर्तमान सरकार प्रमुख डा. वावुराम भट्टराई तपाईहरुको अघिल्लो सरकारका अर्थमन्त्री हुनुहुन्थ्यो । अहिलेको आर्थिक निति तपाईका अनुसार हुने छ कि डा. भट्टराईको पछिल्लो नितिसंग मिल्छ ?
हाम्रो आर्थिक निति डा. भट्टराई अर्थमन्त्री हुदाको आर्थिक निति अनुसार कै हुने छ । केहि थप त सामान्य कुरा हुन ।
तपाईले विगतमा गरेका कामहरु मध्ये यो काम चांहि नगरेको भए हुने रहेछ भन्ने कुनै काम तपाईलाइ लागेको छ ?
विगतमा धेरै काम गरिएको हुन्छ, कति काम गर्न बाकी नै पनि रहेका हुन्छन । आफूले गरेका काममा त्यो काम नगरेको भए हुने रहेछ भन्ने लाग्ने र यो गर्नु पर्ने रहेछ भन्ने लाग्ने कामहरु हुन्छन नै । ति कुरावारे विश्लेषण गरिहाल्ने मेरो वेला भएको छैन कि जस्तो मलाई लाग्छ । यस्ता विषयमा समाजले विश्लेषण गरिदिनु पर्छ ।
तपाईले देखेको, सुनेको वा भनेको अमेरिका र देखेको अमेरिका विचमा के भिन्नता पाउनु भयो ?
संचारका कारण जानकारीका हिसावले मैले देखे बुझे जस्तो नै पाए अमेरिका । इन्फास्टक्चरको विकासमा अमेरिका अगाडि छदैछ त्यसमाथि पनि अहिलेको पुस्ताले अलिकति मेहनत गरिदिए आउंदो पुस्तालाई सजिलो हुने रहेछ भन्ने बुझ्ने मौका अहिलेको भ्रमणबाट पांए ।







