
मुलुकको राजनीतिमा बितेका चार वर्षले सङ्क्रमणको संकट बेहोरेका छन् र त्यो संकटले मुलुकलाई झनझन कमजोर बनाउँदै लगेको छ । राजनीतिक पार्टीहरू आफ्ना नाफानोक्सानको हिसाब किताबमा लागेका छन् यो सङ्कटको घडीमा पनि । पोहोर के नाफा भयो र यो चालु वर्षमा आफ्नो पार्टीलाई कसो गर्दा लाभ प्राप्त होला भन्ने चासो नै ती पार्टीहरूको पहिलो कार्यसूची भएको छ यतिबेला । गएका चार वर्षमा नेपाली नागरिकले भने गणतन्त्र शब्दको उच्चारण बाहेक अर्को कुनै नयाँपन अनुभूत गर्न सकेनन् शासकीय सँरचनामा । सङ्क्रमण काल यस्तै हो भनेर राजनीतिक दलले भन्ने र सुस्केरा छाड्दै नागरिकले त्यसलाई सकार्ने प्रक्रियामै हजार भन्दा बढी दिनहरू सकिएर गए ।
बाहिरी व्यवहारलाई मात्र हेर्ने हो भने अहिले नेपालमा राजनीतिको खेल खेलिरहेका कम्युनिस्ट, कांग्रेस, मधेशी जस्ता पार्टीहरू बीचका सबै भेदहरू समाप्त भएका छन् भनिदिँदा हुन्छ । पार्टीका नाममा जातीहरू साँघुरिएका छन् साना साना टापुहरूमा । मानिस एउटा जाति हो प्राणी जगत्को भन्ने अन्तिम सत्यलाई तिरस्कार गरेर मानिसलाई यतिबेला फोहोरी राजनीतिले जात जातमा बाँडेको छ । लोग्नेमान्छे र स्वास्नीमान्छे – दुइटा जात भएका छन् । सिद्धान्तरहित एवम् विचारहीन ढङ्गले स्वास्नीमान्छेहरू, स्वास्नीमान्छेको ओकालत गरिरहेका भेटिन्छन् । लोग्नेमान्छेहरू अलिक बाठा भएका हुनाले यदाकदा तिनीहरू स्वास्नीमान्छेको पक्षमा बोले पनि मनले तिनीहरू पुरुषको अहंकारभावबाट मुक्त हुन सकेका छैनन् । नेपाली राजनीतिले मान्छेलाई खस समुदाय, जनजाति समुदाय, आदिवासी समुदाय, हिमाली समुदाय, मधेशी समुदाय कति हो कति समुदायमा विभाजित गरेको छ । संसारमा कतै नभएको जात्रा अहिले पनि नेपालको हाँडीगाउँमै भैरहेछ भन्ने उदाहरण हो यो । उसै पनि खस भनेको को हो र कहाँ छ भन्ने प्रश्नको उचित जवाफ नखोजी मानिसलाई फुटाउन आरम्भ गरिएको छ तथाकथित जातिगत राजनीतिको अभियानमा । यतिबेलाको शुद्ध खस नेपालको कुन जाति हो ? यतिबेलाको शुद्ध आर्य नेपालको कुन जाति हो ?
ज्ञानको कुरा नै गर्ने हो भने आजको नेपालमा जातिगत शुद्धता छँदैछैन भनिदिए हुन्छ ।
नेपालको राजवंश मगर थियो र मगरका सन्तानले लामो समयसम्म नेपाल नाम गरेको यो मुलुकका टुक्राहरूमा पहिले राज गरेका थिए । सेन मगरहरूले नेपालको पश्चिम पहाड, अहिले भारतमा परेको भावर क्षेत्र र पूर्वी पहाडमा राज गरे । स्वयम् पृथ्वीनारायण शाह र उनका पूर्वजहरू पनि मगर थिए । त्यसैले पृथ्वीनारायण शाहले मकवानी सेनकी छोरीसँग बिहे गरेका थिए । पृथ्वीनारायण शाहको दोस्रो बिहेपछि वर्णशङ्गर हुन थालेको शाह वंश– परम्परा क्षत्री, ठकुरी, बाहुनी स्याहार्ने क्रममा जात न भातको भयो । तर नेपालका अन्तिम राजा ज्ञानेन्द्रका कालसम्म पनि शाह राजाहरूका कुल देवता, कुल पुजारी मगर जातकै रहेका छन् । बाहुन अथवा क्षेत्री ठकुरीको कुलपुजारी मगर भएको अन्तिम सत्यलाई जति रफ्फू भरे पनि दुनियालाई अलमल्याउन सकिँदैन ।
नेवार समुदायका पढालिखाहरू समग्र नेवारलाई आदिवासी जनजाति ठान्दछन् । तर उपत्यकाका शासक त सधैँ नेवार नै रहे । नेवारहरूको विकास परम्पराको एउटा लामो इतिहास छ, शायद त्यस्तो ऐतिहासिक परम्परा नेपालको अर्को कुनै समुदायको नहोला । नेपालको धनी समुदाय, व्यापारी समुदाय भनेको नेवार नै हो । पछिल्लो कालमा, जब नेवार समुदायका पढालिखा मानिसहरू राजनीतिमा लागे, त्यसपछि मात्र नेपालको बन्दबेपारको क्षेत्रमा क्षेत्री बाहुनहरूले हात हालेका हुन् । यतिमात्र होइन, डाक्टर, इन्जिनियर, प्रशासक तथा कुटनीतिक क्षेत्र जस्ता माथिल्ला पदहरूमा नेवार समुदायको अरू कसैको भन्दा प्रभावकारी उपस्थिति रहेको छ इतिहासदेखि वर्तमानसम्म । त्यसबाहेक नेवार भित्र एउटा जाती समुदाय मात्र छैन । पर्वते समुदायको परिभाषाका आधारमा भन्ने हो भने नेवारका आफ्नै बाहुन छन्, क्षेत्री र वैश्य छन् । नेवार भित्रै दलित समुदाय पनि छ । सँगसँगै नेवार भित्रै आदिवासी पनि छन् । तर थोरै राजनीतिक लाभका लागि सिङ्गै नेवार जातिलाई आदिवासी र जनजाति बनाइएको छ ।
यो सत्य बोल्न यतिबेला मान्छेलाई डर लाग्न थालेको छ किनभने सिमसिमे ज्ञानले गाँजेको नेपाली राजनीतिमा सरल तरिकाले नाफा निकाल्न सबैलाई प्वालहरू चाहिएको छ । नेवार समुदायका मूर्धन्य नेताहरूले सिङ्गो नेवार समुदायलाई आदिवासी र जनजाती भन्नु भनेको आफ्नै अपमान गर्नु हो र वास्तविक आदिवासी जनताका अधिकार खोस्नु हो । विज्ञहरू बहसमा उत्रियून् – नेवार समुदाय जनजाति होइन, त्यो त जाति समुदायको समागम भैसकेको छ । कुन जाति छैन नेवार समुदायमा ? बाहुनदेखि दलितसम्मका सम्पूर्ण जातिहरू त्यसभित्र समेटिएका छन् ।
राजनीतिको धरातल बिग्रिएको छ यतिबेला । सामान्य परिभाषाको हिसाबमै पनि नेपालमा जनजाति भनिएका सचेत नेवार, राई, लिम्बु, गुरुङ, मगर तथा जङ्गली जीवन बाँचिरहेका राउटेहरूलाई एउटै कित्तामा राखेर कसरी विश्लेषण गर्न सकेका होलान् नेपाली “विज्ञ”हरूले ? अधिकार चाहिन्छ सबैलाई – यो अन्तिम सत्य हो । तर एउटाले अधिकारको दाबी गर्दा दुनियाँमा ऊ एक मात्र जीवित प्राणी छैन है भन्ने सत्यको पनि हेक्का राख्नु पर्छ । मानवोचित चेतना भनेको यही हो र यही चेतनाले मानिसलाई बोल्न नजान्ने पशुबाट माथि उचालेको हुन्छ । ‘मलाई भयो सम्धीलाई पनि भयो’ भन्ने आहानले आजको नेपालमा काम गर्न मिल्दैन । त्यसैले अधिकार खोज्नेले सहमति र सहकार्यका लागि पनि आपूmलाई तयार राख्न सक्नुपर्छ ।
नेपाली राजनीतिको निष्ठा यतिबेला जनताप्रति समर्पित छैन । त्यसैले त्यो नागरिकलाई फुटाउने उपायहरूको खोजीमा लागेको छ । ‘फुटाउ र शासन गर’ कुनै पनि राजनीतिको अभीष्ट यही हुँदोरहेछ भन्ने सत्य यतिबेला सत्य भएर नेपाली व्यवहारमा उत्रिएको छ ।
राजनीति बेथितिमै लागेको हुनाले हावादारी भाषणका दिन मौलाएका हुन् बितेको सङ्क्रमणकालमा । त्याग तपस्याका दिन समाप्त भए अब । त्यसैले आपूmलाई ठेगानमा ल्याउन नेपाली राजनीतिले आपूmभित्र नयाँ मोड ल्याउनु पर्ने अवस्था आइसकेको छ । अब पार्टीहरूले भन्न सक्नुपर्छ – नेपाली राजनीतिको धरातल समृद्धि, सुख र शान्ति हुनुपर्छ ।’ राजनीति गर्नेले आपूm पनि खानुपर्छ र अरूलाई खान दिने कामको पनि सुनिश्चितता गर्नुपर्छ । समानताको नारा साम्यवादी र समाजवादीहरूको मात्र सिद्धान्त रहेन अब । गरीबीको समाजवाद अबको नागरिक जीवनका लागि तिरस्कारयोग्य भैसकेको छ । अभाव भ्रष्टाचारको जननी हो । नागरिकलाई सम्पन्न बनाएपछि नै भ्रष्टाचारको अरण्यरोदनबाट मुक्ति पाउन सकिन्छ ।
त्यसैले नेपालका सबै सक्षम राजनीतिक दलहरूले जनतालाई कसरी धनी बनाउन सकिन्छ भन्ने क्षेत्रमा अनुसन्धानकार्य आरम्भ गर्नुपर्छ । आखिर नेपालीहरूले कांग्रेसको शासन १० वर्ष खेपे । एमालेले पनि १० महिना शासन चलाएकै हो भने माओवादीहरू पनि गरीबीको समाजवादको जङ्गली सत्ताबाट बैरागिएर कांग्रेस र एमाले जस्तै हुन अहिले निर्वाचित सरकार सञ्चालन गरिरहेकै छन् ।
नागरिकको विश्लेषणमा माथि उल्लेख गरिएका सबै दलहरूको सरकारले एउटै खालको काम गरेको छ । मधेशी दलहरुको कुनै सिद्धान्त नै छैन । येनकेन प्रकारेण मन्त्री पडकाउन पाए तिनलाई पुगिहाल्छ । अरू साना पार्टीहरू खहरे हुन् र कालान्तरमा तिनीहरू यिनै ठूला नदीमा समाहित हुने नै छन् । त्यसैले साना पार्टीहरूका बारेमा अहिले लामो छलफलको आवश्यकता छैन ।
भूमि, जनसङ्ख्या र सम्पदाका आधारमा मूल्याङ्गन गर्ने हो भने सबैभन्दा समृद्ध मुलुक हुनेछ हाम्रो मातृभूमि । १२० किलोमिटरको चौडाइ भित्र हाम्रो देशमा ५८ मिटरदेखि ८८४८ मिटरसम्मको भूभाग छ । उकालो ओरालो गर्दा प्रत्येक दश किलोमिटरमा एउटा नयाँ प्रकृति भेटिन्छ नेपालमा । मुलुकको व्यवस्थापन गर्न जानेमा नेपाल १० वर्षमा एशियाको समृद्धतम देशमध्येको एउटा हुन्छ ।
तर यतिबेला नेपालको राजनीति र नोकरशाहीतन्त्र नै समुच्चा विकासको विरोधी भएको छ । ज्युँदा उदाहरणहरू बग्रेल्ती छरिएका छन् । नेपाल खरबौँको जडीबुटी उत्पादन गर्नसक्ने मुलुक हो, तर त्यसको व्यवस्थित खेती गर्न पाइँदैन । उर्जा सङ्गट छाएको बेला पनि, जलविद्युत् उत्पादन कम्पनीलाई काम गर्न नदिएर आरामले निदाएको छ जलस्रोत मन्त्रालय र नेपालको विद्युत् प्राधिकरण । बलेर खेर गैरहेको छ अपारसम्पदाका रूपमा रहेका प्राकृतिक ग्यास । तर तेलमन्त्रीहरू सधैँ विदेशतिरै डलर तिर्ने रहरमा बाँचिरहेका हुन्छन् । खानीहरू असरल्ल छरिएका छन् जथाभावी – तिनको व्यवस्थापन गर्न खानी विभागलाई अल्छी लाग्छ ।
अनि नेपालमा त्यस्ता अयोग्यहरू प्रधानमन्त्री हुँदै आएका छन् – जो पाङ्दुरे भाषण त गर्न जान्दछन् तर ती जान्दैनन् मुलुकलाई धनी बनाउनका लागि गरिनुपर्ने महत्वपूर्ण काम गर्न । गएको सङ्क्रमणकालले विकास निर्माण र नागरिक समृद्धिको सन्दर्भमा थोत्रा मान्यतालाई नै लाहाछाप लाएको छ ।
नयाँ वातावरण बन्दैछ । नेपाली राजनीतिमा तानाशाहीका विरुद्ध जनता र तिनका प्रतिनिधिले आन्दोलन गर्नुपर्ने दिन नआओस् । यही सालले स्टालीनशैलीमा तानाशाही लाद्ने कोशिस गरिरहेको वर्तमान सरकारको पश्चगमनमा पूर्णविराम लगाओस् । नेपालीहरू आफ्नो सम्पदाहरूको उपयोग गरेर धनी बन्नसकून् । सम्पूर्ण नेपालीप्रति यही सद्भाव र शुभकामना !
असार ०६९
काठमाण्डौ ।






